संवाद समितिमा शीर्ष नेताहरुको संयन्त्र बनाउने प्रस्ताव

127
  •  
  •  
  •  

काठमाडौं, २५ कात्तिक (ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्न संवाद समितिमा रहेका शीर्ष नेताहरुकोमात्र एउटा संयन्त्र बनाउने प्रस्ताव गरेका छन् ।

भट्टराईले संयन्त्रले संविधानका अन्तरबस्तु र प्रक्रियाका विषयमा सहमति खोज्ने प्रस्ताव गरेका हुन् । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलका शीर्ष नेताहरुस“ग सभापति भट्टराईले आफ्नै कार्यकक्ष सिंहदरबारमा भएको अनौपचारिक छलफलका क्रममा यस्तो प्रस्ताव राखेका हुन् ।

मंगलबार संवाद समितिको बैठक केहीबेर स्थगित गरी शीर्ष नेताहरुको अनौपचारिक बैठक सभापति भट्टराईको कार्यकक्षमा भएपनि सहमति हुन सकेन ।  ‘विषयबस्तुमा सहमति हुन सक्दैन भने प्रक्रियामा त सहमति हुन प¥यो ।

कुन ढंगको प्रतिवेदन पठाउने, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरुको बीचमा सहमति भएन भने निर्णय गर्न गाह्रो हुन्छ । त्यसैले शीर्ष नेताहरु नै बसेर तपाईंहरुले त्यसबारेमा निर्णय गरिदिनुहोस भनेर उहा“हरुलाई आग्रह गरेको थिए“ तर त्यसमा पनि सहमति हुन सकेन’, सभापति भट्टराईले बैठकपछि भने – ‘हाम्रो नियमावलीले यो समितिलाई सबै कुरा सहमतिमै निर्णय गर्ने मात्रै अधिकार दिएको छ ।

अहिलेसम्म पठाइएका तीन वटा प्रतिवेदन पनि सहमतिमा मात्रै संविधानसभामा पठाइएको छ ।’

सहमति कायम हुन बा“की रहेका संविधानका अन्तरबस्तु र प्रतिवेदन पठाउने विषयमा भएको छलफलमा समितिका सदस्यहरुले बोल्ने क्रम अझै नसकिएकोले बैठक जारी राखिएको सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।

छलफललाई जारी राख्दै अन्ततः एउटा सहमति बनाएर प्रतिवेदन पठाउने प्रयत्न गर्ने सभापति भट्टराईले बताए । कात्तिक १८ गतेको बैठकमा काँग्रेस–एमालेले संविधानका विवादित बिषयमा संयुक्त धारणा पेश गरेयता बैठक अघि बढ्न सकेको छैन । मंगलबार पनि उक्त प्रस्तावमाथि सदस्यहरुले आफ्नो धारणा राखे पनि समितिको प्रक्रिया अघि बढेको छैन ।


  •  
  •  
  •