सत्तारुढ दलको प्रस्ताव खारेज गर्नुपर्छ नत्र भण्डाफोर गर्छौंः सापकोटा

414
  •  
  •  
  •  

काठमाडौ, १८ कात्तिक(ओएनएस) : एकीकृत नेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेस र एमालेसहितका सत्तारुढ दलले ल्याएको साझा प्रस्तावलाई महेन्द्रपथको षड्यन्त्रको संज्ञा दिएका छन् ।
साथै यसको भण्डाफोर सडक र सदनबाट गर्ने चेतावनी समेत दिएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले सो प्रस्तावमाथि छलफल नै नहुने गरी आफूहरुले खारेज गरिदिएको दावी गरे । साथै पाँचथरबाट भण्डाफोर अभियानको सुरुवात समेत भइरहेको जानकारी दिए ।

सापकोटाले प्रस्तावले अहिलेसम्म भएका आन्दोलन, सहमति र सम्झौताको भावना तथा उपलब्धिलाई उल्ट्याएको आरोप लगाए । उनले यसले जनताभित्र रहेको बारुद विष्फोट हुने चेतावनी दिए ।
‘४०५ सभासद्को गणितीय दम्भ देखाएर ल्याएको यो प्रस्ताव विस्तृत शान्ति सम्झौता र १२ बुँदे सहमति भत्काएर परिवर्तनका पक्षधरलाई आत्मसमर्पण गराउने खेल हो,उनले भने हामी अझै ५० वर्ष लड्न तयार छौं तर आत्मसर्मपण गर्दैनौं ।’

उनले काँग्रेस एमाले सहमतिमा गम्भीर नहुँदा सहमति हुन नसकेको भन्दै सहमतिको लागि बोलाइएको बैठकमा आउँदै नआई अरुलाई कुराएर अपमान गरेको आरोप लगाए ।

सो अवसरमा काँग्रेस नेता रमेश लेखकले माघ ८ गतेभित्र संविधान जारी गर्ने विषयमा सहमति हुन नसकेपछि सत्तारुढ दलहरुले साझा प्रस्ताव पेश गर्नुपरेको स्पष्ट बारे । आफूहरुले पेश गरेको प्रस्ताव संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पेश गर्नुपर्ने बताए ।
नियमावलीमै सहमति र असहमतिका प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था रहेकोले भट्टराईले पेश गर्नुपर्ने भन्दै आफ्नो प्रस्तावले संविधान आउँदैन कि भन्ने आशंका मेटेको दावी गरे ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सहमति हुन नसकेपछि आफूहरुले प्रस्ताव ल्याएको प्रस्तावमा देख्नेबित्तिकै उत्तेजित हुनुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे ।
उनले मुलुक सुहाउँदो र विकास गर्न सकिने हिसाबले प्रस्ताव ल्याएको दावी गरे
। ज्ञवालीले सबैलाई पहिचान दिन नसकिने भन्दै योभन्दा उत्कृष्ट प्रस्ताव ल्याउन एमाओवादीलाई चेतावनी दिए ।
उनले एमाओवादीले लगाएको महेन्द्रपथको आरोपको खण्डन गर्दै भने– ‘महेन्द्रले संघीयता र गणतन्त्र मानेका थिएनन् भन्ने कुरा माओवादीले पनि बुझ्नुपर्छ ।’

राप्रपा संसदीय दलका नेता दीपक बोहराले आफूहरुले पेश गरेको प्रस्ताव नै अन्तिम प्रस्ताव नभएको स्पष्ट पार्दै यसलाई संशोधन गर्न एमाओवादीलाई ‘काउन्टर’ प्रस्ताव ल्याउन सुझाव दिए ।
उनले भने– ‘योभन्दा पनि राम्रो प्रस्ताव ल्याउनुस्, यो प्रस्ताव खारेज हुन्छ । प्रक्रिया र विधिभन्दा बाहिरबाट जानुहुँदैन ।


  •  
  •  
  •