प्रधानमन्त्री व्यस्त भएपछि राजनीतिक संयन्त्रको बैठक निष्कर्षबिहिन

150
  •  
  •  
  •  

काठमाडौँ, १७ माघ(ओएनएस) : सरकारको काम कारबाही, मधेस आन्दोलन र भारतीय नाकाबन्दी लगायतका विषयमा छलफल गर्न बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको व्यस्तताका कारण सिंहदरबारमा आज बसेको बैठकमा एजेण्डामात्र तय भएको र कुनै निर्णय नभएको नेताहरूले जानकारी दिएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालले बैठक कुनै निष्कर्षमा नपुगेको र आइतबार साँझ ५ बजे पुनः संयन्त्रको बैठक बस्ने जानकारी दिएका छन् । सरकारको काम कारबाही सन्तोषजनक नभएको भन्दै एमाओवादीले संयन्त्रको बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।

संयोजक प्रचण्डका अनुसार बैठकमा मुख्य रूपमा लामोसमयदेखिको मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा छलफल केन्द्रित भएपनि कुनै निष्कर्ष निस्किन सकेन ।

यसअघि बसेको एमाओवादी स्थायी समिति बैठकले जनताले राहत अनुभूति हुनेगरी सरकारले काम नगरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा सत्ता साझेदार र सरकार समर्थित दलका नेताहरुको सहभागीतामा संयन्त्र गठन भए पनि लामो समयदेखि बैठक बस्न सकेको थिएन ।

संयन्त्रको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेमकिपालगायतका दलका नेताको सहभागिता थियो ।


  •  
  •  
  •