तीन मधेसी दलबीचको एकीकरण : एकादेशको कथा

207
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं, ६ असार (ओएनएस) । मुलुकमा गणतन्त्र स्थापना भएपछि सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचनमा मधेसी जनाधिकार फोरम नेपाल संविधानसभामा चौथो शक्ति बन्यो । निर्वाचनताका गठन भएको तमलोपा र मधेसको पुरानो पार्टी सद्भावनासहित मधेसी दलको उपस्थिति संविधानसभामा निर्णायक जस्तै बन्यो ।
जुन दलको सरकारले गठन भएपनि त्यसमा मधेस केन्द्रित दलको सहभागीता अनिवार्य हुन्थ्यो । पहिलो संविधासभाको चार वर्षे अवधिमा (संविधानसभाको दुई वर्ष र थप दुईवर्ष ) मधेस केन्द्रित दल सधैं सत्ताको बैशाखी बने । सत्ताकै लागि अधिकांश दल विभाजितसमेत बने । यही विभाजित अवस्थामा दोस्रो संविधानसभाको निर्वाचनमा जाँदा उनीहरु नराम्ररी पराजित बने ।
पराजयको पीडा विर्साउन तीन मधेसी दल दल फोरम, तमलोपा, सद्भावनाबीच संविधानसभाको निर्वाचन लगत्तै एकीकरण प्रयास आरम्भ भएको थियो । एकीकरणको अभियान सुरु भएको ६ महिना पुरा हुन लागेका छ । तर, अहिले सम्म त्यसले मुर्त रुप लिन सकेको छैन् ।
एकीकरणकालागि तीनै दलका दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन भएको छ । हालसम्म कार्यदलको करिब २५ पटकसम्म बैठक बसिसकेका छ । ‘हामीले एकीकरणको सबै प्रक्रियाका विषयमा आफ्नो राय पेश गरिसकेका छौं, कार्यदलका सदस्य एवं सद्भावनाका महासचिव मनिषकुमार सुमनले ओएनएसन्युजसँग भने,‘ कार्यदलले प्रतिवेदन तीनअटै अध्यक्षलाई पेश गरेपनि अध्यक्षहरुबीच संयुक्त बैठक हुन नसक्दा एकीकरणले मुर्त रुप लिन सकेको छैन ।’

कार्यदलले एकीकृत पार्टीको अध्यक्षमा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई सिफारिस गरेको छ । सहमति अनुसार एकीकृत पार्टीको कार्यकारी अध्यक्षमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भाना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने सहमति भएको छ । उपेन्द्र यादवलाई संसदीय दलको नेता र राजेन्द्र महतोलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने सैद्धान्तिक सहमति भएको छ ।
एकीकरणको लागि खाका बनाउन गठित तीन दलका नेता सम्मिलत कार्यदलले पार्टी नेतृत्व, संगठन, विधानलगायतका विषयमा आफ्नो खाकालाई अन्तिम रुप दिएको छ । कार्यदलले सहमति गरेको खाका अनुसार एकीकृत पार्टीको अध्यक्षमा महन्थ ठाकुर, संसदीय दलको नेता तथा कार्यकारी अध्यक्षमा उपेन्द्र यादव र संगठन विभाग प्रमुख र कार्यकारी अध्यक्षमा राजेन्द्र महतो प्रस्ताव गरिएको छ ।
यसैगरी चुनाव चिन्ह र झण्डाका विषयमा सद्भावना पार्टीको चुनाव चिन्ह तीर र फोरम नेपालको चुनाव चिन्ह मशाल प्रस्ताव गरिएको छ । स्रोतका अनुसार तमलोपाले सद्भावना पार्टीको चुनाव चिन्हमा सहमति जनाउन फोरम नेपालका अध्यक्षलाई प्रस्ताव गरेको छ ।

तीरंगा पृष्ठभुमिमा तीर झण्डा राख्ने र चुनाव चिन्ह भने तीन नै प्रयोग गर्न तमलोपाले प्रस्ताव गरेका कारण त्यसमा सहमति हुने संभावना बढी रहेको तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डलले जनाए । तमलोपाको चुनाव चिन्ह जोडी गोरु उपयुक्त नभएको तमलोपाले जनाएपछि तीर र मशाल मध्ये एकलाई चुनाव चिन्ह बनाउन कार्यदलले सिफारिस गरेको छ ।
यसैगरी कार्यदलले एकीकृत पार्टीको नाम पनि सिफारिस गरेको छ । तराई मधेस सद्भावना फोरम, सोसल डेमोक्र्याटिक पार्टी र लोकतान्त्रिक सद्भाना फोरम प्रस्ताव गरेको छ । कार्यदलले एकीकृत पार्टीको संरचना पनि प्रस्ताव गरेको छ । हाल तीनवटै पार्टीका केन्द्रीय सदस्यलाई कायम गर्नेगरी ३ सय ५१ सदस्यीय केन्द्रीय समिति , ५५ देखि ६० सदस्यीय कार्यसम्पादन समिति, ३० जनाको राजनीतिक समिति र तीन जनाको अध्यक्ष मण्डल बनाउने प्रस्ताव गरिएको छ ।

तर, कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको लामो समयसम्मपनि एकीकरण प्रक्रियाले गति लिन नसक्नुका पछाडि फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवको एकीकृत पार्टीको अध्यक्ष बन्ने महत्वकांक्षाले काम गरेको बताइएको छ । सुरुमा यादव ठाकुर नेतृत्वको पार्टीमा आफू दोस्रो बरियतामा रहन सहमत भएका थिए ।

तर यो बीचको तीन महिनामा यादव एकीकृत पपार्टीको अध्यक्ष आफैं बन्नुपर्ने निष्कर्षमा पुगेका कारण एकीकरण प्रक्रियाले मुर्त रुप लिन नसकेको एक नेताले बताए ।
एकीकरणकै विषयमा छलफल गर्न शुक्रवार साँझ तीन दलका अध्यक्षको बैठक बस्दैछ ।


  •  
  •  
  •