सरकारले बैशाख २६ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने

135
  •  
  •  
  •  

काठमाडौँ, २१ बैशाख(ओएनएस) : सरकारले आगामी आव २०७३/७४ को नीति तथा कार्यक्रम यही बैशाख २६ गते व्यवस्थापिका-संसद समक्ष प्रस्तुत गर्ने भएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि बनाएको प्रारम्भिक समय तालिकामा सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गते अपराह्न ४ बजे सदन समक्ष प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी जेठ १५ गते अपराह्न ४ बजे प्रस्तुत गर्ने गरी संसद् सचिवालयले कार्यसूचीको खाका तयार गरेको छ ।

संसद्को आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सचिवालयले चालु अधिवेशनका लागि तयार गरेको उक्त कार्यक्रम र समय तालिकाको प्रारम्भिक खाका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकलाई उपलब्ध गराइएको थियो ।

संसद् सचिवालयका अनुसार भूकम्पपछिको पुनःनिर्माण, मुलुकका विभिन्न स्थानमा भएका आगलागी लगायत समसामयिक विषयमा यही वैशाख २२ र २३ गते संसद्को पूर्ण बैठकमा छलफल हुनेछ । अर्थमन्त्री पौडेलले यही वैशाख २३ गते संसद् समक्ष पेस गर्र्ने पूर्वबजेट अर्थात् बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख २४ र २५ गते छलफल गरिने छ ।


  •  
  •  
  •