काठमाडौं १६ पुस । नेपाल प्रहरीमा एसएसपी रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर उनले पनि पत्नी रञ्जु खरेललाई सुरकी बनाएर कमिसन खाएका छन् । खरेल पर्सा प्रमुखको रुपमा कार्यरत हुँदा पत्नीलाई सुराकी बनाएर भन्सार कार्यालयबाट कमिसन लिएका हुन् । भन्सार छलेर आएका विभिन्न सामान बरामद गर्दा उनले पत्नी रञ्जुको नाम सुरकी प्रतिवेदनमा राखेर कमिसन बुझेका कागजपत्रहरु फेला परेका छन् ।
भन्सार छलीका सामानहरु बरामद गर्दा आफन्तलाई सुराकी बनाएर कमिसन खाने चलन नेपाल प्रहरीमा पूरानै हो । त्यस्ता सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ ।
खासगरी तराईका जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिक लाखौंको भन्सार छलीको सामान बरामद गर्छ । कतिपय सुराकीका आधारमा र कतिपय चेकजाँचका क्रममा बरामद हुन्छ । तर, सबै सामान सुराकीकै आधारमा बरामद भएको देखाएर प्रहरीले त्यसवापतको पैसा आफैं खाने गर्छन् । तलबले नपुग्ने भएकाले त्यसरी पैसा कमाउनु बाध्यता भएको केही प्रहरी अधिकारीहरुले बताए ।
घुस नखाएको खरेल दाबी
खरेलले आफूले भ्रष्टाचार र घुस नखाएको दाबी गर्दै नियमानुसार कमिसन लिएको दाबी गरेका खछन् । उनले वीरगन्जमा छँदा आफूले नियमानुसार नै कमिसन खाएको बताए । उनले श्रीमतीको नाम राखेर लिएको पनि स्वीकारे । ‘झुटो बोल्दिनँ,श्रीमतीको नाम राखेकै हो,तर के मेरी श्रीमती यो देशको नागरिक होइनन् ? के उनले सुराकी दिने अधिकार राख्दिनन् ?’ खरेलले भने ।
सिरहामा चोरीको स्कर्पियो गाडी समात्दा र काठमाडौंमा अवकाशप्राप्त एआइजी रमेश श्रेष्ठको गाडी समात्दा पनि मैले नियमले मिल्ने गरी कमिसन खाएको छु । नियमअनुसार प्रहरीले कमिसन खान्छन् । यो विगतदेखिकै प्रचलन हो ।
मिति : ०६८ कात्तिक २३
घटना : तस्करी गरी ल्याएर वीरगन्ज–१५ लुकाइएको इन्डिका कार प्रहरीद्वारा बरामद
प्रतिवेदन : रञ्जु खरेललगायतको सुराकीमा कार बरामद भएको भन्दै सुराकी भत्ता पाउन राजस्व कार्यालयमा पत्र
वास्तविकता : प्रहरीले अपरेसन गरेर तस्करीको गाडी जफत गर्यो, तर कमिसन तत्कालीन पर्सा प्रहरी प्रमुख रमेश खरेलकी श्रीमती रञ्जु खरेलले बुझिन्
थप घटना : त्यसअघि र पछि भन्सार छलेर ल्याइएका बोलेरो जिपलगायतका सामान बरामद गर्दा रञ्जु खरेल सुराकी बनेकी छिन् र उनका नाममा कमिसन गएको छ
नयाँ पत्रिकाबाट