कक्षा ८ देखि १२ का विद्यार्थीलाई पढाउँदै प्रहरी

414
  •  
  •  
  •  

काठमाडाैं, १४ असाेज (अाेएनएस) : चितवनमा महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्षित गरी उक्त अभियान शुरु गरेको हाे।

गत भदौ २५ गतेदेखि जिल्लाका विद्यालयमा क्रमशः कक्षा सञ्चालन गरिँदै आएको छ । पाठ्यक्रममा यस्ता विषय नहुँदा समाजमा विकृति, विसङ्गति बढ्दै गएपछि प्रहरीले अभियानका रूपमा कक्षा सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए।

प्रहरी नायब उपरीक्षक ढकालका अनुसार विद्यार्थीलाई कक्षाकोठामा राखेर प्रहरी अधिकृतले नियमित रूपमा लागूऔषध दुव्र्यसन, साइबर अपराध तथा मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटनासम्बन्धी चेतनामूलक प्रशिक्षण दिइरहेका छन् । यस्ता कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहका महानगर, नगर, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरिएको छ ।

नियमित कक्षासँगै विभिन्न निकायसँग छलफल, पर्चा, ब्रोसर र होडिङबोर्ड तयार गरी चेतनामूलक सन्देश एवं तस्बीर प्रकाशन गर्ने काम पनि प्रहरीले गरेको छ ।


  •  
  •  
  •