काठमाडौं २४ पुस । मुलुकको राजनीतिक अवस्थामा आएको उत्तारचढावलाई ध्यान दिएर आन्दोलनका क्रममा कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मीलाई दैनिक भत्ता बढाइने भएको छ । सार्क शिखर सम्मेलनका क्रममा खटिएका प्रहरीलाई दैनिक २ सय ५० रुपैयाँ भत्ता दिएकोप्रति नेपाल प्रहरीले असहमति जनाएपछि अबदेखि आन्दोलनमा खटिने प्रहरीलाई दैनिक ४ सय रुपैयाँ भत्ता दिइने भएको छ ।
संविधान जारी गर्ने दिन नजिकिँदै गर्दा उत्पन्न हुन सक्ने सुरक्षा खतरालाई ध्यान दिएर परिचालन हुने सुरक्षा निकायका जवान तथा अधिकृतहरूका लागि खाजा खर्चबापत दैनिक ४ सय रुपैयाँ भत्ता दिन प्रस्ताव गर्ने मन्त्रालय स्रोतले जनाएको छ । संविधान जारी गर्ने समयमा संविधानविरोधीहरूले गर्ने सक्ने अवरोधलाई निस्तेज पार्न खटिने प्रहरीको मनोबल उच्च राख्न पनि खाजा खर्च बढाउनुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको हो ।
सार्क सम्मेलनमा सँगै खटिएका सेना र सशस्त्र प्रहरीले खाजा खाँदासमेत नेपाल प्रहरीका जवानहरू भोकै बस्नुपरेको र मन्त्रालयले ४ सय रुपैयाँ खाजा खर्च दिने भनिएको पैसा पनि अर्थ मन्त्रालयले २ सय ५० मात्र दिएकाले प्रहरी प्रधान कार्यालयले त्यसबारे गृह मन्त्रालयमा असन्तुष्टि जनाएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव लक्ष्मीप्रसाद ढकालले ८ माघको आसपासमा खटिने प्रहरीलाई भत्ता बढाउने प्रयास भइरहेको जानकारी दिए । ‘सार्क शिखर सम्मेलनमा खटिनेलाई ४ सय दिनुपर्छ भनेर हामीले प्रस्ताव गरेका थियौं तर उनीहरूले त्यति पाएनन्, अब भने आन्दोलनका क्रममा नियमितबाहेक अतिरिक्त समयमा खटिनेलाई खाजा खर्चबापतको रकम बढाउनुपर्ने प्रयास भएको छ,’ ढकालले राजधानीसँग भने ।
गृह मन्त्रालयले पछिल्लो पटक सुरक्षा योजना तयार गरी ८ माघको आसपासमा सुरक्षा अवस्था फितलो नहोस् भनेर सबै तयारी गरेको छ । मन्त्रालयमा दैनिकजसो सुरक्षासम्बन्धी बैठक हुने गरेका छन् भने तीनओटै सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा अवस्थाबारे मन्त्रालयमा जानकारी गराइरहेका छन् ।
केन्द्रीय सुरक्षा परिषद्को बैठकमा समेत मुलुकभर सुरक्षाकर्मी हाई अलर्टमा बस्नुपर्ने निष्कर्ष निकालिएको छ । यस्तै, प्रहरीलाई सूचना विश्लेषण गरी त्यसैअनुसार परिचालित हुनसमेत निर्देशन गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले पनि देशभरका प्रहरी कार्यालयलाई ८ माघको आसपासमा हुन सक्ने सुरक्षा खतरालाई ध्यानमा राखेर सतर्क रहन निर्देशन दिइसकेको छ । ‘जुनसुकै बेला जे पनि हुन सक्छ, त्यसै त सतर्क रहनुपर्ने प्रहरी झन् यस्तो बेला त सतर्क हुने नै भयो नि †’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव जोशीले राजधानीसँग भने, ‘जस्तोसुकै अवस्थामा पनि प्रहरी जनताको सुरक्षामा खटिनेछ, खटिएकै छ ।’
गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्ला तथा पाँचै क्षेत्रलाई सुरक्षा अवस्था बलियो बनाउन निर्देशन दिइसकेको छ । मन्त्रालयले तयार पारेको सुरक्षा योजना र प्रहरी प्रधान कार्यालयले तयार पारेको योजनालाई संयुक्त रूपमा कार्यान्वयन गर्नसमेत मन्त्रालयले निर्देशन दिएको हो ।
राजधानीबाट