काठमाडौं ,२९ कात्तिक (ओएनएस) : चौधौं सशस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयलेएथलेटिक्स, फुटबल, भलिबल, ब्याडमिन्टन, लनटेनिस, टग अफ वार लगायतका खेल स्पर्धाहरु आयोजना गरेको छ ।
उक्त खेलकुद प्रतियोगितामा वाहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । फुटबल तथा भलिबलतर्फ सशस्त्र प्रहरी बल प्रधान कार्यालय टिमले प्रथम स्थान हासिल गरेको छ । टग अफ वारमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवश्रोत विकास विभागले बगलामुखी विशेष कार्यदल गणलाई हराउँदै प्रथम पुरस्कार हात पारेको छ ।
यसैगरी दुई माइल दौडमा बगलामुखी विशेष कार्यदल गणका जितेन्द्र राई प्रथम, दक्षिणकाली गणका राजिन श्रेष्ठ द्वितीय तथा सीमा सुरक्षा कार्यालय कैलालीका नवलबहादुर बुढा तृतीय भएका छन् ।
यता ब्याडमिन्टनतर्फको ५० वर्षमाथि युगलमा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय माधवबहादुर थापा र
देवेन्द्रकुमार सुब्बाको जोडीले प्रथम स्थान हासिल गरेको छ । उनीहरुले अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक बासुदेव वली र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक जीवनकुमार थापाको जोडीलाई पराजित गरेका छन् ।
यसैगरी काठमाडौंको स्वयम्भुमा आज विहान प्रभातफेरी तथा सदभाव ¥यालीको आयोजना गरिएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु दुर्जकुमार राई, जीवनकुमार थापा, कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ र प्रकाश ओझा लगायत एपीएफ अधिकृत जवान तथा एलआरआई स्कुल कलंकी र नेपाल एपीएफ स्कुल कीर्तिपुरका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
‘सुरक्षा तपाईको प्रतिबद्धता हाम्रो’ भन्ने नाराका साथ स्वयम्भु चोकबाट सुरु भएको उक्त प्रभातफेरी भगवान पाउँहुँदै प्रसिद्ध स्वयम्भुनाथ मन्दिरको परिक्रममा गरी सम्पन्न भएको थियो ।
काठमाडौंको विभिन्न धार्मिक तथा सार्वजनिक स्थानमा कार्तिक २९ गते एपीएफ टोलीले व्यापक रुपमा सरसफाईको कार्य गरेको छ ।
सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित वृहत्त सरसफाई कार्यक्रम अन्तर्गत स्वयम्भुनाथ मन्दिर, सोभाभगवती मन्दिर, कीर्तिपुरको बुद्ध मन्दिर, मच्छेनाथ मन्दिर, लगनखेलको बटुवभैरव मन्दिर, भक्तपुरको निलवराही मन्दिर, हनुमान मन्दिर दरबारमार्ग, गणेश मन्दिर झम्सीखेल, नागपोखरी, कमलपोखरी लगायतको क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीहरुले सरसफाई गर्नुका साथै फोहर व्यवस्थापनको कार्य समेत गरेका थिए ।