काठमाडौँ, २६ मंसिर (ओएनएस): राजधाजनीको जोरपाटी नयाँबस्तीस्थित प्रहरी बिटमा स्थानीयले आक्रमण गरेका छन् । अाक्रमणबाट १० जना भन्दा बढी प्रहरी घाइते भएका छन् ।
प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले प्रहरी बिटमा आक्रमण गर्दै त्यहाँ रहेका सामान जलाएका हुन् । ठूलाे संख्यामा रहेका स्थानीयले आइतबार बिटमा आक्रमण गर्दा भवनमा क्षति पुगेकाे छ, भने ५ वटा मोटरसाइकल जलेर नष्ट भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेकाे छ ।
अाक्रमणमा उत्रिएको १३ जनालाई पक्राउ गरिएकाे महानगरीय प्रहरी बृत बौद्धका प्रहरी निरीक्षक आयुष जोशीले जानकारी दिए।
मादक पदार्थ सेवन गरी ट्याक्सी चलाएका राजु लामालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको थियो ।
पक्राउ परेका लामाको मृत्यु भएपछि प्रहरीको कुटपिटले चालक लामाको मृत्यु भएको भन्दै स्थानीयवासी प्रहरी बिटमाथि आक्रमण गरेका हुन् । लामालाई बिहान अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।