प्रहरीले अब अभियुक्तको अनुहार छोप्‍ने

104
  •  
  •  
  •  

काठमाडौं २९ साउन ।
व्यक्तिको मानवअधिकारलाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले कुनै घटनामा पक्राउ परेका अभियुक्तलाई उसको अनुहार छोपेर मात्रै सार्वजनिक गर्ने भएको छ। अदालतले दोषी करार नगर्दा सम्म अभियुक्तको अनुहार सार्वजनिक गर्दा उसको मानवअधिकार हनन् हुने निकर्ष निकाल्दै मुख्यालयले यस्तो तयारी गरेको हो।

हाल नेपालभरका प्रहरी कार्यालयले आपराधिक घटनामा संलग्न अभियुक्त पक्राउ गरेपछि अनुहार सँगै छातिमा अपराधको कसुर सहितको नेमप्लेट टाँसेर सार्वजनिक गर्दै आएको छ। प्रहरी मुख्यालयले मावनअधिकार कर्मी, नागरिक समाज, न्यायाधीश लगायत सरोकारवाला पक्षसँग परामर्श लिएर अभियुक्तको अनुहार सार्वजनिक नगर्ने भएको हो। यो विषयमा प्रहरी भित्रै पनि अन्तरविरोध थियो। छिमेकी मुलुक भारतमा समेत प्रहरीले अनुहार छोपेर अभियुक्त सार्वजनिक गर्ने हुँदा नेपाल प्रहरीले यो नीति अवलम्बन गर्न लागेको हो।

प्रहरी मुख्यालयमा बुधबार वसेको पुलिस कोअर्डिनेसन कमिटी (पिसिसि) वैठकमा यो विषयमा छलफल भएको थियो। छलफलका क्रममा अपराध अनुसन्धान विभागका निमित्त प्रमुख डिआईजी सुरेन्द्रबहादुर शाहले अभियुक्तको अनुहार सार्वजनिक गर्दा पहिले नै व्यक्तिको गोपनीयता भंग हुने र उसले दोषी करार नभएको अवस्थामा समाजमा निर्भिक ढंगले वाँच्न पाउने अधिकार समेत कुण्ठीत हुने सवालमा ध्यानदिनुपर्ने सुझाव पेश गरेका थिए। प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल लगायत अन्य विभागीय प्रमुखहरूका समेत यस विषयलाई छिट्टै कार्यान्वयनमा ल्याउनुपर्नेमा एक मत भएको थियो।

मुख्यालयका प्रवक्ता एसएसपी गणेश केसीले भने,’ हामी यो विषयलाई छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा छौं, सबै पक्षसँग छलफल पछि अर्को पिपिसी वैठकबाट निर्णय गराएर कार्यान्वयनमा ल्याउँछौं।’ पिसिस वैठकमा सशस्त्र प्रहरी गणका प्रहरी कर्मचारीलाई पनि रातै टोपी लगाउनुपर्ने व्यवस्था र अपराध नियन्त्रणको त्रिवर्षीय योजनाको विषयमा समेत छलफल भएको थियो। सुरूमा प्रहरीलाई ‘जनपथ’ भनेर भनिंदै आएको थियो। प्रहरीको नयाँ नियमावलीले जनपथ शब्द हटाएर नेपाल प्रहरी भन्नुपर्ने प्रावधान उल्लेख गरेपछि सबै प्रहरीले रातो टोपी लगाउनुपर्ने विषयमा छलफल भएको प्रवक्ता एसएसपी केसीले बताए।अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •