अपराध जालो तोड्न ‘प्रहरी कठोर’

232
  •  
  •  
  •  

काठमाडौं, २३ साउन : प्रहरी प्रधान कार्यालयबाट महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्न आएका एसएसपी पुष्कर कार्कीले साउन ५ गते पहिलो पत्रकार सम्मेलनमा भनेका थिए, काठमाडौंमा हतियार बोकेका व्यक्तिहरू बढिरहेका छन्। मेरा अफिसर्ससँग पनि हतियार हुन्छ, होसियार रहनू।
police
गृहमन्त्री वामदेव गौतमले पनि बुधबार पोखरामा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै ुकुनै पनि राजनीतिक दलका नेता वा शक्तिपक्षसँग नडराई निर्धक्क जिम्मेवारी पूरा गर्नु सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका थिए।
यी दुवै भनाइ आफैंमा नौला थिएनन्। तर, एसएसपी कार्कीको चेतावनीको १६ दिनपछि र गृहमन्त्री गौतमको निर्देशन आएकै दिन काठमाडौं प्रहरीको हतियार चल्यो। हत्या प्रयासको अभियोगमा सात महिनादेखि फरार दिनेश अधिकारी चरी भीमढुंगामा प्रहरीको गोली लागेर मारिए। बुधबार दिउँसो ललितपुर प्रहरीले अर्का कुख्यात गुन्डा अभिषेक गिरीलाई पक्राउ गरेर सार्वजनिक गर्योि। उनी अपहरणको अभियोगमा सहयोगीसहित पक्राउ परेका थिए। दुईमध्ये गिरी कांग्रेस र चरी एमाले निकट थिए।

के उपत्यकाको संगठित अपराध नियन्त्रणमा प्रहरीले आफ्नो नरम नीति बदलेकै हो ? व्यवसायीलाई धम्क्याएर रकम असुली गर्ने, अपहरण, फिरौती संकलन र अवैध हतियार खरिदबिक्रीमा सक्रिय समूहको सूची बनाएर खोजीमा खटिने सादा पोसाकका प्रहरीको संख्या बाक्लिएको छ उपत्यकामा। संगठित अपराध नियन्त्रणका लागि प्रहरीले योजनासहित कठोर रणनीति कार्यान्वयनमा ल्याएको सम्बद्ध अधिकारी बताउँछन्।

एसएसपी कार्कीले उपत्यकामा जबर्जस्ती रकम असुलीका घटना बढेपछि सादा पोसाकका प्रहरीको संख्यासँगै असुली नियन्त्रणका लागि प्रहरी सक्रियता बढाएको बताए। अपराध नियन्त्रण क्रममा कसैले प्रहरीमाथि गोली चलाउँछ भने प्रहरीले पनि प्रतिकार गर्छ, उनले बिहीबार नागरिकसँग भने, हत्या प्रयासकै अभियोगमा फरार सुजन पौडेल (रमेश बाहुन) को पक्राउसँगै आपराधिक गतिविधिमा सक्रिय समूहको समीकरण बदलिएको छ, त्यही सूचनाका आधारमा प्रहरी संगठन सचेत भएको छ।

नाका र शंकास्पद स्थानमा निगरानी बढाउने क्रममै बुधबार चरीसँग मुठभेड भएको उनले दाबी गरे। गिरीलाई ज्युँदै पक्राउ गर्नु र चरीलाई मार्नु प्रहरीको योजना होइन, गोली नै हानेपछि प्रतिकार गर्दा उनी मारिए, एसएसपी कार्कीले भने, ज्युँदै पक्राउ गर्न सकेको भए प्रहरीले महत्ववपूर्ण आपराधिक सूचनाहरू पाउनसक्थ्यो।

प्रहरीस्रोतका अनुसार उपत्यकामा पछिल्लो समय हप्ताअसुलीका घटना बढेका छन्। कहलिएका गुन्डादेखि टोलेगुन्डाले समेत धक्याएर पैसा माग्ने गरेको सूचनाको चाङ प्रहरी कार्यालयमा बढेको छ। र, यससँगै प्रहरीले असुलीमा सक्रिय समूहका सदस्य, गम्भीर अपराधमा संलग्न फरारहरू, जेलमा रहेका गुन्डाको सूची बनाएर तिनको दैनिकी र सम्पर्क जालो केलाउँदै नयाँ रणनीति बनाएको स्रोत बताउँछ।

स्रोतका अनुसार प्रहरीले सादा पोसाकको संख्या बढाएर प्रारम्भमा आपराधिक गतिविधिमा कहलिएका तर प्रहरीमा कुनै उजुरी नआएकाहरूको गतिविधि निगरानीलाई प्राथमिकता दिएको छ। दोस्रो तहमा प्रहरीमा उजुरी परेका तर फरार रहेकाहरूको खोजी, तेस्रोमा ठेक्कापट्टामा कमिसन उठाउन सक्रिय समूह र विभिन्न व्यवसायको आवरणमा रहेका तस्करीमा सक्रियहरूको सूची बनाएको छ। जानकार स्रोतका अनुसार साना हतियार बोक्ने र खरिदबिक्रीमा सक्रिय समूहको सूचीलाई समेत प्रहरीले उच्च प्राथमिकतामा राखेको छ।

प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले संगठित अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर कानुनले दिएका सबै शक्ति प्रयोग गर्ने गरी प्रहरी परिचालित भएको बताए। कानुनको क्षेत्राधिकारभित्र रहेर कुनै पनि प्रकृतिको अपराध नियन्त्रण गर्न सशक्त ढंगमा अघि बढ्नेछौं, उनले बिहीबार नागरिकसँग भने, कानुनी दायरा र मानवअधिकार संरक्षणका आधारमा नेपाल प्रहरीले संगठित अपराधको जालो भत्काउने अभियान अघि बढाएको छ।

उपत्यकामा गोली शृंखला
उपत्यकामा बुधबार तीन वर्षपछि प्रहरीतर्फबाट गोली चलेको हो। व्यापारीलाई अपहरण गरेर होटलमा बन्धक बनाएको सूचनाका आधारमा अपराध महाशाखा टोलीले २०६८ भदौ १३ मा सोह्रखुट्टेमा रहेको होटल सैलुङमा गोली चलाउँदा शीतल तुलाधर घाइते भएका थिए।

व्यापारीलाई अपहरणमुक्त गर्न जाँदा प्रहरी टोलीमाथि आक्रमण भएपछि गोली चलाएको प्रहरी दाबी थियो। गोली लागेका तुलाधरको ज्यान त जोगियो, तर उनी अपांग भए।

त्यसअघि २०६७ जेठ ७ गते महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजु पुलमा गोली हान्दा शिव खड्का घाइते भएका थिए। पेटमा गोली लागेका उनको ज्यान जोगियो। उनी लुटपाटमा सक्रिय रहेकाले पक्राउ गर्न जाँदा प्रहरीलाई गोली हानेकाले प्रतिकार गरेको प्रहरीले जनाएको थियो।
२०६७ मै धापासीको ग्रिनलाइन क्षेत्रमा प्रहरीको गोली लागेर दुईजना मारिएका थिए। स्वयम्भुका ११ वर्षीय बालकको अपहरणमा संलग्न समूहको खोजीमा खटिएको अपराध महाशाखाकै टोलीले गोली चलाउँदा उनीहरू मारिएका थिए। प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा प्रविन तामाङसहित ११ जनालाई पक्राउ गरेको थियो।

२०६६ वैशाख ८ मा दरबारमार्गमा गोली चलाएर फरार रहेका कुमार घैंटेलाई पक्राउ गर्न प्रहरीले गोली हानेको थियो। दरबारमार्गको विन्पी क्याफेमा गोली हानेपछि फरार रहेको अभियोगमा उनलाई प्रहरीले खोजेको थियो। लाजिम्पाटको होटल शंकरको स्विमिङ पुलमा रहेका घैंटेलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग (तत्कालीन प्रभाग) को टोलीले गोली हान्दा तिघ्रामा लागेर घाइते भएका थिए। नागरिक दैनिकबाट साभार


  •  
  •  
  •