२५ हजार घुस लिँदालिँदै प्रहरी नायब निरीक्षक पक्राउ

173
  •  
  •  
  •  

नेपालगन्ज २४ माघ (ओएनएस) : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक सुमन खरेललाई घुस लिइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको छ । आयोग सम्पर्क कार्यालय कोहलपुरबाट पुगेको टोलीले शुक्रबार राती नेपालगन्जको धम्बोझीस्थित क्रसरोड रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो।

मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग घुस लिने गरेको जनगुनासो बढेपछि आयोगले खरेललाई निग्रानीमा राखेको थियो। खरेललाई २५ हजार घुससहित पक्राउ गरिएको आयोगका सम्पर्क कार्यालय प्रमुख बसन्त कुँवरले जानकारी दिए।

खरेललाई पक्राउ गर्दा शुक्रबार बेलुका करिब तीनघण्टा अख्तियार टोली र अन्य प्रहरीबीच क्रसरोड रेष्टुरेन्टमा घम्साघम्सी भएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौरले पनि खरेललाई घुस लिइहेको अवस्थामा अख्तियारले रंगेहात पक्राउ गरेको पुष्टि गरेका छन् ।

‘सुमनलाई अख्तियारले पक्राउ गरेको हो,’ उनले भने ‘अरु कुरा बुझ्न बाँकी छ।’ इलाका प्रहरी कार्यालय जमुनाहामा दरबन्दी भएका खरेल आर्थिक अनियमितताको आरोपमा एक वर्षअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका थिए।

भेरी अञ्चल प्रहरी कार्यालयको कारबाहीमा तानिएका उनलाई इलाका प्रहरी कार्यालयले अपराध सम्बन्धी सुचना संकलनका लागि सादा पोशाकमा खटाएको थियो।


  •  
  •  
  •