देशमा शान्ति सुव्यवस्था र अमनचैन कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण

127
  •  
  •  
  •  

काठमाडौँ, ३१ असोज (ओएनएस)  : परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले देशमा शान्ति सुव्यवस्था र अमनचैन कायम गर्न नेपाल प्रहरीको महत्वपूर्ण भूमिका भएको बताएका छन् ।

प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीद्वारा शुक्रवार आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जलि कार्यक्रममा उनले देशका अप्ठ्यारा घडीमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका सह्रानीय भएको बताए ।

गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हाल्हेका मन्त्री पाण्डेले भने,‘राष्ट्रको कानुन कार्यान्वयन गर्ने संस्थाका रुपमा आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्दै आएको प्रहरी संगठनका कर्मचारीले कर्तव्य पालनाको सिलसिलामा गरेको योगदान तथा बलिदान शब्द्धमा व्यक्त गर्न सकिँदैन ।”

मुलुक संविधान निर्माणका माध्यमबाट समृद्ध बन्ने महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले संविधान निर्माणका सन्दर्भमा आउने जस्तासुकै चुनौतीको सामना गर्न नेपाल प्रहरी सक्षम हुने विश्वास व्यक्त गरे ।

नेपाल प्रहरीको संगठनलाई समयसापेक्ष रुपमा सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले सरकार त्यसका लागि सदैव लागिपर्ने बताए ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कर्तव्य पालनाका सिलसिलामा बलिदान गर्ने अमर तथा वीर प्रहरी देश र जनताका सच्चा सेवकका प्रतिमूर्ति रहेको बताउँदै यस्ता वीर सपूतहरुको वीरगाथाले नेपाल प्रहरीको गौरवपूर्ण इतिहास भरिएको बताए ।

उनान्साठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी कल्याणकारी कोषमार्फत प्रहरी कल्याणकारी योजनालाई अझ प्रभावकारी बनाउने, ७० वर्ष पूरा गरेका पूर्व प्रहरी कर्मचारीको कदरस्वरुप पुरुष प्रहरी कर्मचारीका लागि मासिक रु ७०० र महिला कर्मचारीका लागि एक हजार कल्याण कोष निवृत्तिभरण उपलब्ध गराउनेलगायतका कार्यक्रम अघि सारिएको उनले बताए ।

सो अवसरमा अमर प्रहरी स्मारकमा मन्त्री पाण्डे, महानिरीक्षक अर्याल, अमर तथा वीर प्रहरीका परिवार तथा अतिथिहरुबाट पुष्पगुच्छा अर्पण गरिएको थियो ।

उक्त अवसरमा कर्तव्य पालनाका सिलसिलामा वीर गति प्राप्त गरेका प्रहरी कर्मचारी कुमार बुढाथोकीलाई मरणोपरान्त सम्मान गरिएको थियो भने उहाँकी श्रीमती शान्ति बुढाथोकीलाई कदरपत्र, एवम् नेपाल प्रहरी श्रीमती संघका तर्फबाट राहत सहयोग प्रदान गरिएको थियो ।

त्यस्तै प्रहरी दिवसका अवसरमा आयोजित माध्यमिक विद्यालयस्तरीय राष्ट्रव्यापी कविता प्रतियोगिता–२०७१ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु क्रमशः स्वस्थिक घिमिरे, स्वीकृति खत्री र अर्चला लामिछानेलाई कदरपत्र प्रदान गरिएको थियो भने इमान्दार ट्याक्सी चालकका रुपमा दिनेश केसी, लेखक उज्ज्वल जिसी र साहित्यकार कृष्णजीवी घिमिरेलाई पनि सम्मान गरिएको थियो ।


  •  
  •  
  •