पोखरा विमानस्थल शिलान्यास, पुरा हुँदै एउटा सपना

209
  •  
  •  
  •  

पोखरा, १ वैशाख (ओएनएस): प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताउँदै विभिन्न माग राखेर सडक आन्दोलनमा उत्रेकाहरुलाई आन्दोलन छाडेर विकास अभियानमा संलग्न हुन आग्रह गरेका छन् ।

पोखरा विमानस्थलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार नयाँ वर्षको पहिलो दिन ‘रन वे’मा उँभिएको र अब यसको गतिलाई कसैले रोक्न नसक्ने दावी गरे । विमानस्थल बन्न लागेकोमा पोखरेली जनतालाई बधाई दिँदै प्रधानमन्त्रीले यस ठाउँको विकास अगाडि बढ्ने भरपर्दो आधार अगाडि बढेको बताए ।

आफू प्रधानमन्त्री भएको सुन्नेबित्तिकै पोखरेलीहरुलाई पोखरा एयरपोर्ट बन्छ भन्ने लागेको हुनुपर्ने तर्क गर्दै उनले भने,‘ यदि कसैलाई लागेको थिएन भने अब लाग्ने छ, किनकी शिलान्यास भइसक्यो, चार वर्ष्भित्र हामी काम सम्पन्न गर्छौं । ७७ सालको वैशाखमा म विमानस्थल उदघाटन समारोहमा सामेल हुन सक्छु ।’

समयमा नै निर्माण पूरा गर्न चिनियाँ निर्माण कम्पनीलाई आग्रह गर्दै सरकार र राजनीतिक दलहरुको तर्फबाट सक्दो सहयोग गर्ने उनको विश्वास छ ।

प्रधानमन्त्री ओलीले मधेशी मोर्चाले तराईमा आन्दोलन गर्ने चेतावनी दिइरहेका कुरालाई लक्षित गर्दै भने, ‘अब आन्दोलन केका लागि ? बरु बाटो बनाउन, स्कुल बनाउन, हस्पिटल बनाउन सरकारलाई साथ दिनुस् । अब कालो टालो हल्लाएर हिँड्नुको अर्थ छैन, राष्ट्रिय झण्डा बोक्नुस् ।’ पोखराले मुहार फेर्न लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘आजको पोखरालाई राम्ररी हेर्नुस्, नत्र भोलि यसले रुप फेरेपछि चिन्नुहुन्न ।’


  •  
  •  
  •