रक्षा रेग्मी
काठमाडौं १ भदौ (ओएनएस) : सरकारले पाँच विकास क्षेत्रका मुख्य सहरमा विषादी मापन यन्त्र राख्ने तयारी गरेको छ । पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढी र नारायणगढमा मेसिन राख्न लागिएको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय तरकारीमा विषादीको मात्रा अत्याधिक देखिएपछि सरकारले यस्तो कदम चाल्न बाध्य भएको बताएको छ ।
त्यस्तै विषादी व्यवस्थापन समितिले ६ महिना भित्रमै काठमाडौं तथा ललितपुरमा गरी पाँच ओटा मेसिन राख्न लागिएको कृषि विकास मन्त्रालयका वरिष्ठ वाली संरक्षण अधिकृत वासुदेव पोख्रेलले बताए । उनका अनुसार बल्खु, बानेश्वर, लगनखेल, माछापोखरीमा विषादी मापन यन्त्र राख्न लागिएको हो । त्यस्तै कालिमाटी तरकारी बजारमा एउटा मेसिन थप्न लागेको उनले जानकारी दिए । ‘कालिमाटीमा नेपालका अधिकांश जिल्लाका तरकारी आइपुग्ने हुँदा एउटा विषादी मापक यन्त्रले पुगेको छैन’, उनले भने, ‘त्यसैले कालिमाटीमा एउटा मेसिन थप्न मन्त्रालयमा प्रस्ताव राखेको हो ।’ ६ महिना भित्र सवै स्थानमा मेसिन राख्ने पाख्रेलले जानकारी दिए ।
उनका अनुसार एउटा मेसिनको मूल्य ८ लाख रुपैयाँ लाग्छ । यसरी योजनाअनुसार काठमाडौंमा पाँच र अन्य स्थानमा गरी मेसिन खरिदका लागि कम्तिमा २ करोड रुपैयाँ लाग्ने पाख्रेलले जानकारी दिए । विषादी मापनका लागि आवश्यक केमिकललगायत अन्य सामग्रीको लागिमात्र १२ लाख रुपैयाँ पर्ने उनी बताउँछन् ।
त्यस्तै मेसिन सञ्चानल तथा विषदी मापनका लागि कम्तिमा ५० जना प्राविधिक आवश्यक पर्ने बताइएको छ । मेसिन ताइवानबाट ल्याउनुपर्ने जनाइएको छ । साथै निकट भविष्यमा रेफ्रिजेरेटर सहितको भ्यान तयार गरी विभिन्न जिल्लाका तरकारी संकलन केन्द्रमा अनुगमनका लागि लगिने उनले बताए ।
पछिल्लो समयमा उच्च विषादीको मात्रा भएको तरकारी कालिमाटी बजारमा नभेटिएको पोख्रेलले बताए। ‘मेसिन राखेपछी किसानहरू पनि सचेत भएका छन्’, उनले भने । सरकारले दैनिक ५ देखि ८ वटासम्म तरकारीका नमुना परीक्षण गर्ने गरेको छ ।