काठमाडौं, २ साउन (ओएनएस) । कालीमाटी तरकारी बजारमा रहेको अधिकांस तरकारी खानयोग्य रहेको सरकारले दाबी गरेको छ ।
बिहीबार कृषि विकास मन्त्रालयले पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेको हो । कालीमाटी दु्रत विषादी परीक्षण ल्याव स्थापनापछि विभिन्न तरकारीको परीक्षण रिपोर्ट सार्वजनिक गर्दै वाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराज शर्माले ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भएको तरकारी तथा फलफूलमात्रै खान अयोग्य हुने बताए ।
अन्तराष्टिय मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादीयुक्त तरकारी तथा फलफूल खानयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत विषादीयुक्त तरकारी तथा फलफूल ४,५ दिन क्वारण्टिनमा राखी उपयोग गर्दा हानी नगर्ने पनि शर्माले जिकिर गरेका छन् ।
त्यस्तो उपजलाई नष्ट गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि कार्यविधि कार्यान्वयन आएपछि बढी विषादीयुक्त उपज नष्ट गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ । कार्यविधि कृषि विकास मन्त्रालयले असार २९ गते नै स्वीकृत गरिसकेको छ । दु्रत परीक्षण प्रयोगशाला स्थापनापछि असार मसान्तसम्ममा ३६ प्रकारका बालीमा कुल १८७ नमुना परीक्षण गरिसकेको बाली मन्त्रालयल जानकारी दिएको छ ।
त्यसमध्ये १५५ वटा उपज स्वच्छ पाइएको, ६ वटामा ३५ देखि ४५ प्रतिशत र २६ वटा पूर्णरूपमा विषादी पाइएको मन्त्रालयले जनाएको छ ।
खासगरी आलु, भेडेखुर्सानी, पीरो खुर्सानी, हात्ती सुँडे खुर्सानी, केरा, बोडी र पालुङगो, काउली, गाजर र प्याजको साग गरी कुल २६ वटा नमुनमा बढीमात्रा विषादी फेला परेको बताइएको छ । विषादी प्रयोगलाई न्यूनीकरण गर्दै साने सरकारको योजना रहेको कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले बताएका छन् ।
त्यसका लागि उत्पादक कृषक समूह उपभोक्ता, विक्रेता, विषादी बिक्रेताबीच सचेतना कार्यक्रम सञ्चालन गरिने, निरन्तर परीषण, बढी विषादीयुक्त सामग्री पाइएमा चेतावनी दिने र बारम्बार नकारात्मक नतिजा आएमा बिक्रीमै रोक लगाउने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।
तर, बढी विषादी प्रयोग गर्नेमाथि कारबाही गर्ने कानुनको अभाव रहेको बताइएको छ । बढी विषादी प्रयोग गर्नेमाथि कारबाही गर्ने कानुनको अभाव रहेकाले कानुन निर्माणको तयारी भइरहेको पनि सचिव खनालले जानकारी दिएका छन् ।