विषादी प्रयोग गर्ने किसानलाई सरकारको तालीम

492
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं ७ साउन(ओएनएस) : सरकारले  किसानहरुलाई गाउँगाँउमै  गएर विषादी प्रयोग सम्वन्धि तालीम दिने भएको छ । बुधवार कृषि मन्त्रालय, वातावरण मन्त्रालय, खाद्य विभाग तथा भन्सार विभागका  पदाधीकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
हरेक जिल्लामा भएका किसानहरुको समूहमार्फत कडाईका साथ विषादी प्रयोग सम्वन्धि तालीम दिन लागिएको कृषि मन्त्रालयका प्रवक्ता टेकप्रसाद लुइटेलले बताए ।
विशेष गरी बारा पर्सा, धादिङ, भक्तपुरलगायत बढी विषादी प्रयोग भएका जिल्लाहरुमा यस्तो अभियानलाई कडाइका साथ लागु गर्न लागिएको उनले जानकारी दिए । कृषकहरुलाई विषादीको मात्रा,प्रयोग गर्ने पटक तथा प्रतिक्षा अवधिका बारेमा जानकारी दिन लागिएको उनले बताए । ‘कुन तरकारीमा कति विषादी प्रयोग गर्ने तथा विषादी प्रयोग गरेपछि कति समयसम्म प्रयोग नगर्नेलगायत बारे जनचेतना फैलाउने कार्यलाई कडाइका साथ लागु गर्न लागेका हो’, उनले भने ।

बैठकले विषादी व्यवस्थापन समिति गठन गरी कालिमाटी विषादी मापन यन्त्र थप्ने निर्णय गरिएको बताइएको छ । ‘१ वर्ष भित्रमै अन्य टुकुचा, बल्खु तथा माछापोखरीलगायत अन्य ठूला तरकारी बजारमा विषादी मापन यन्त्र राख्ने बारे पनि छलफल भएको छ’ उनले भने ।
नेपालमा उत्पादन हुने अधिकांश तरकारीमा ‘अग्र्यानो फष्फेट’ र ‘कार्वोनेट’ नामक विषादीको प्रयोग हुँदै आएको  छ । सरकारले कालिमाटी तरकारी बजारमा विषादी मापन यन्त्र (आरडीआरआर प्रणाली) राखेपछि विषादी भएको तरकारी बजारसम्म पुग्न नपाएको कृषि मन्त्रालयका वरिष्ठ वाली संरक्षण अधिकृत बासुदेव शर्माले बताए ।

उनका अनुसार हालसम्म ३६ प्रकारका तरकारी तथा फलफुलका १ सय ८७ पटक  विषादी परिक्षण गरिएको  छ । विशेष गरी भारतबाट आयात गरिएका तरकारीमा विषादीको मात्रा बढी देखिएको । त्यस्तै धादिङ,  पनौती,  ललितपुर, काठमाडौंलगायत जिल्लामा उत्पादन भएका तरकारीमा बढी विषादी भएको बताइएको छ । त्यसमध्ये सवैभन्दा बढी विषादी आलुमा रहेका पाइएको छ ।

त्यस्तै बोडी, प्याज, आँपलगायतमा पनि विषादीको मात्रा बढी देखिएको शर्माले  जानकारी दिए ।  कृषि मन्त्रालयले ४५ प्रतिशतभन्दा बढी निषेद दर भएका विषादीयुक्त तरकारीलाई भने नष्ट गर्ने गरेको छ ।


  •  
  •  
  •