काठमाडौं । पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ ।
पृथ्वी जयन्तिको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् । नेपाली सेनाले गोरखाबाट शुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।