धुर्मुस-सुन्तलीले बनाएको बस्तीमा प्रधानमन्त्री

111
  •  
  •  
  •  

काठमाडौं १७ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओली पाँचखाल- १६ स्थित धुर्मुस-सुन्तली एकीकृत नमुना बस्ती पुगेर सोबारे जानकारी लिएका छन् । बस्तीको अवधारणा, मोडल, बनावट र बसोबास गरिरहेको समुदायबारे जानकारी लिएका हुन् ।

‘धेरै मिहेनत गरेर बनाउनुभएको भएको रहेछ,’ प्रधानमन्त्रीले भने, ‘यही मोडेलको अरु स्थानमा पनि उपयुक्त हुन सक्छ ।’ त्यहाँको बसाइ, खानेपानी, शौचालय र ढल निकासको व्यवस्थापबारे उनले जानकारी लिएका थिए । अवलोकन गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्षा अघि नै भुकम्पपीडितको व्यवस्थापन गरिसक्ने दाबी गरे । ‘सबैको घर एकैपटक नबल्ना तर क्षतिको आधारमा प्राथमिकतामा राखेर व्यवस्थापन गर्छौं,’ उनले भने, ‘तीन चरणमा भूकम्पपछिको पुनर्निर्माण गर्छौं ।’

जोखिमपूर्ण क्षेत्रमा रहेका भूकम्पपीडितको स्थानान्तरण र जग्गा प्राप्ति चुनौतीपूर्ण रहेको तर्क गर्दै उनले त्यसलाई पनि सहज बनाउने प्रतिवद्धता व्यक्त गरे । पुनर्निर्माण विधेयक र प्राधिकरण पनि बनिसकेकोले उनले पुनर्निर्माणको कामले तीव्रता पाउने विश्वास लिए ।

उनले काभ्रेमा भुकम्पपीडित परिवारले न्यानो कपडावापतको रकम नपाएकोबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल पठाउन निर्देशन दिने बताए । ‘रोकिनुनपर्ने हो, न बुझेर निर्देशन दिन्छु,’ उनले भने, ‘न्यानो राहत पाउने कुरामा बिलम्ब हुनुहुँदैन ।’ अर्थले निकासा नदिँदा काभ्रेका १९ हजार परिवारले राहत नपाएको बिषय कान्तिपुरले प्राथमिकताका साथ उठाइरहेको छ । फरक प्रसंगमा उनले नाकाबन्दी ‘लगभग हट्ने’ बताए । नाकाबन्दी हट्ने पहिला कि भारत भ्रमण पहिला भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले नाकाबन्दी पनि हट्ने र भारत भ्रमण पनि हुने बताए ।

सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै मेरी बासै, भद्रगोलका कलाकार र सगुन डटकमको टोलीले पाँचखाल १६ पहरीगाउँमा एकिकृत नमुना बस्ती बसाएको थियो । पहरी गाउँमा एकैनासका घरभित्रै शौचालय भएको बगैँचा सहितको ३ कोठे पक्की २० घर छन् । प्रत्येक घरको लागि खानेपानी धारा र बस्तीमा ५ बायोग्यास प्लान्ट जडान गरी सबै घरमा व्यवस्था गरिएको छ । डिस होम समेत जडान गरिएको छ ।

कान्तिपुरबाट


  •  
  •  
  •