‘सेलिब्रेटी’हरुले प्रधानमन्त्रीलाई भने : राहत कोषबारे जनतामा भ्रम छ

412
  •  
  •  
  •  

काठमाडौ, ८ जेठ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार विहान सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुसँग भूकम्प पीडितहरुलाई दिइने राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा भूकम्प पीडितहरुको लागि राहत रकम संकलनलाई प्रभावकारी बनाउने, संकलित राहत रकम र सामग्री भूकम्प पीडित समक्ष पु-याउने, भूकम्प प्रभावित क्षेत्रमा पुन:स्थापना र पुनर्निर्माण कार्य सञ्चालन गर्न स्थापित पुन:स्थापना तथा पुनर्निर्माण कोषलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको थियो ।

छलफलमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य, सामाजिक विकास सल्लाहकार डा. विजन पन्त, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव बसन्त गौतम र नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल लगायत उपस्थित थिए ।

भेटमा उनीहरुले गाँउ तहसम्म कुनै पनि गैरसरकारी निकायको संस्थागत संरचना नभएकोले राहत संकलन र वितरणमा सरकारी संयन्त्र नै प्रभावकारी हुने बताए । उनीहरुले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा को–को रहन्छ र कसरी खर्च हुन्छ भन्ने जानकारी नभएकोले केहीले संशय प्रकट गर्ने गरेको पनि बताए । यो संशय निवारण गर्न यसको सञ्चालक समितिमा निजी क्षेत्र र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु पनि समावेश गर्न उचित हुने सेलिब्रटीहरुको प्रधानमन्त्रीलाई सुझाव दिए ।

छलफलका क्रममा प्रधानमन्त्री कोइरालाले नेपाल सधै संघर्ष, तदर्थवाद र संक्रमणबाट गुज्रिनु परेकोले हर क्षेत्रमा संस्थागत विकास हुन नपाएको उल्लेख गरे । उनले ८२ बर्षमा आएको यस्तो विपद् सामना गर्न हामीसँग स्रोत, साधन, दक्ष जनशक्ति नभए पनि छरछिमेकको सहयोगले खोजी र उद्धार कार्य छिटो गर्न सकिएको बताइ । उनले स्रोत साधन र पर्याप्त दक्ष जनशक्तिको अभावमा पनि नेपालमा भएको खोजी, उद्धार र राहत कार्यको विकसित मुलुकका प्रतिनिधिहरुले समेत प्रसंसा गरेको बताए ।

प्रधानमन्त्री कोइरालाले विपत्तिबाट भएको विनासको त्रासदीबाट आम नागरिकलाई सामान्य अवस्थामा ल्याउन, पुनस्र्थापना र पुनर्निर्माण कार्यलाई व्यवस्थित ढंगले छिटो सम्पन्न गर्न र नेपालको उज्ज्वल भविष्यप्रति आशा जगाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।


  •  
  •  
  •