प्रधानमन्त्री ओलीको भारत भ्रमण अन्योलमा

127
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक ।
दुई देशबीच तनाव चुलिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणसमेत अन्योलमा परेको छ।

प्रधानमन्त्री ओलीको प्रस्तावित भारत भ्रमणबारे भारतीय पक्ष हालसम्म सकारात्मक देखिएको छैन।भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालका प्रधानमन्त्रीले भारतीय राजदूत रन्जित रेसँग आफू भारत भ्रमण गर्न इच्छुक रहेको नयाँदिल्लीमा बताएका थिए।

प्रवक्ता स्वरूपको त्यस खालको अभिव्यक्तिबाट परराष्ट्र मन्त्रालयका अधिकारीसमेत आश्चर्यचकित भएका छन्।’भारतीय राजदूतसँग प्रधानमन्त्री आफैंले भारत जाने इच्छा राख्नुभएको भन्ने कुरामा सत्यता छैन। बरु भारतीय प्रधानमन्त्रीले नै भ्रमणमा आउन लिखित रूपमा निमन्त्रणा गरेका हुन्,’ प्रधानमन्त्री निकट स्रोतले अन्नपूर्णसँग भन्यो।

स्रोतका अनुसार प्रधानमन्त्री ओली भारतका तर्फबाट जारी नाकाबन्दी नहटेसम्म भारत नजाने मनस्थितिमा छन्। प्रधानमन्त्रीले अहिलेको असहज अवस्था हल गर्नका लागि भारतीय जनता पार्टीका नेता विजय जोलीमार्फत पहल गरिरहे पनि सम्बन्ध सहज हुन सकेको छैन।

ओली प्रधानमन्त्री निर्वाचित भएकै दिन बधाई दिँदै भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको निमन्त्रणा दिएका थिए। त्यसलगत्तै भारतीय प्रधानमन्त्रीले पठाएको लिखित बधाई सन्देशमा ओलीलाई नयाँदिल्ली आउन औपचारिक रूपमा निमन्त्रणा गरिएको छ।

वीरगन्जमा भएको प्रदर्शनमा केही दिनअघि भारतीय नागरिक आशीष राम मारिएपछि प्रधानमन्त्री र मोदीबीच भएको टेलिफोन संवादमा पनि प्रधानमन्त्रीले भारतबाट रोकिएको इन्धन र उपभोग्य वस्तु नखुलेसम्म आफू भारत नआउने बताएका थिए।

‘नेपाली जनताले अहिले तपाईंहरूका कारण झेलिरहेको असहज अवस्थाका कारण म भ्रमणमा आउन सक्दिनँ। यो असहजता अन्त्य भएपछि म आउँछु’ प्रधानमन्त्रीले भनेका थिए।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बिहार विधानसभा चुनाव सम्पन्न भएलगत्तै प्रधानमन्त्री ओलीको भ्रमण हुनसक्ने आसय भारतीय पक्षले दिएको जानकारी दिए। बिहार विधानसभा चुनाव सकिए पनि ओलीको भ्रमणबारे भने कुनै प्रगति हुन सकेको छैन।

प्रधानमन्त्री ओलीले देशको अखण्डता र सार्वभौमिकताको सबालमा कसैसँग झुक्न नसकिने भन्दै अहिले नाकाबन्दीबाट समस्या भोगिरहेको धारणा राख्दै आएका छन्। दुई दिनअघि नेपालले भारतीय नाकाबन्दीबारे जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् बैठकमा दह्रोसँग विषय उठाएर अन्तर्राष्ट्रियकरण गरेकोमा भारत रुष्ट देखिन्छ।

उक्त बैठकमा भारतले मधेस आन्दोलन र माओवादी द्वन्द्वका क्रममा भएका मानवअधिकार छानबिन हुनुपर्ने अभिव्यक्ति दिएबाट सम्बन्ध तत्काल सुधार्न कठिन देखिएको अधिकारीहरू बताउँछन्। नेपाले चीनसँग गरेको इन्धन खरिद समझदारीबाट पनि भारत चिढिएको अधिकारीहरू बताउँछन्।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •