बाग्मती सफा गर्न पुगेका प्रधानमन्त्री कोइरालाले भने, ‘संविधान आउँछ, आउँछ’

192
  •  
  •  
  •  

sushil koirala at bagmatiकाठमाडौ, २८ चैत(ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले प्रतिबद्ध भएर लागेमा लक्ष्य हासिल गर्न असम्भव नभएको बताएका छन् । बाग्मती सफाई अभियानको १०० औं हप्ता पुगेको अवसरमा बाग्मती किनार तिलगंगामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै लाखौ जनताको सहभागीता भएको, सरोकार र आस्था तथा प्रतिबद्धता रहेको बाग्मती सफाई अभियान सफल हुनेमा आफू विस्वस्त रहेको बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले तिलगंगा आँखा अस्पताल अगाडि बाग्मतीको किनारमा उपस्थित भएर मानव साङ्लोमा आवद्ध भई बाग्मती सफाई कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए । उनले बाग्मतीको सफाई अभियानले समग्र नेपाललाई स्वच्छ वातावरण, शान्ति, लोकतन्त्र र विकासको पक्षमा लाग्न प्रेरणा दिएको बताएका छन् । यसले काठमाण्डौ उपत्यका सहित नेपालभरका शहर र नगर वरिपरिका नदी,तलाउ पोखरी सफाई गर्न स्थानीयलाई प्रेरणा दिएको पनि उनले उल्लेख गरेका थिए ।

प्रधानमन्त्री कोइरालाले मदर टेरेसाको उदाहरण दिँदै भने, “एक विदेशी महिला कलकत्ताको गल्लीमा कोठा भाडामा लिएर अपाङ्गहरुको सेवा गर्दा गर्दै उहाँको संस्था संसारभर विस्तारित भयो । उहाँले नोवल शान्ति पुरस्कार पाउनु भयो । प्रतिबद्धता भयो भने सफलता अवश्यंभावी छ ।”

प्रधानमन्त्री कोइरालाले विकासको लागि शान्ति, अमनचयन आवश्यक भएको बताउदै भने,“ सारा राजनीतिक पार्टी, संस्था र मुलुक चिन्तित छन्, संविधान आउँछ आउँछ ।”

प्रधानमन्त्री कोइरालाले नेपालमा १० वर्षमा कायापलट हुने विश्वास गर्दै भने, “ सारा नेपालीलाई आफ्नो मातृभूमिको कसरी विकास गर्ने भन्ने चिन्ता छ । यसले नै हामीलाई विकासको पथमा लैजाने छ ।”

उनले छिमेकी भारत,चीन सहित अमेरिका र यूरोपेली युनियनका मुलुकहरु नेपालको विकास, शान्ति, स्थायित्व र लोकतन्त्रलाई सघाउन तत्पर भएको पनि बताएका छन् । उनले भने, “यति संभावना बोकेको सुन्दर मुलुक छ । प्रकृतिले अपार देन दिएकी छिन् । शान्ति, स्थायित्व र लोकतन्त्र नभएकोले मात्रे हामीकहाँ विकास नभएको हो । अब विकास हुन्छ ।”

उनले जलस्रोत, कृषि, पर्यटन, जडीबुटी खेतिको बिस्तार र प्रशोधन, पूर्वाधार विकास सबै क्षेत्रमा लगानीको संभावना भएको पनि बताए ।
उनले मुलुकले आन्दोलन मारकाट, हिंसा, विरोध, संघर्ष हैन शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकास चाहेको उल्लेख गर्दै सोको प्राप्तीको लागि सबैलाई एकजुट भएर लाग्न पनि आग्रह गरेका छन् ।


  •  
  •  
  •