विदेशीको सम्पर्कबाट टाढिँदैछन् प्रधानमन्त्री

343
  •  
  •  
  •  

sushil-koiralaकाठमाडौ, ५ माघ : प्रधानमन्त्री सुशील कोइरालाले ‘दुईपक्षीय सम्वन्धका गम्भीर र अत्यावश्यक विषयबाहेक कुनै पनि कूटनीतिक समुदायसँग भेट नमिलाउन’ निकट सहयोगी तथा परराष्ट्र मन्त्रालयलाई सूचित गराएका छन् ।

विदेशी कूटनीतिज्ञदेखि सामान्य कर्मचारीसमेत आफ्ना एजेण्डा लिएर भेट गर्न आउन थालेपछि ‘जथाभावी भेट तय नगर्न’ निर्देशन दिएको प्रधानमन्त्री निकटवर्तीहरुले जानकारी दिए । ती अधिकारीका अनुसार, संक्रमणकालमा यसैपनि विदेशीलाई भेट्न नहुने र त्यसमा जो पनि भेटको समय तालिका लिएर आउन थालेपछि प्रधानमन्त्रीले परराष्ट मामिलमा संचालन गर्ने निकायलाई निर्देशन दिएका हुन् ।

संविधान लेखनबारे दलहरुबीच रस्साकस्सी चलिरहँदा नेपालस्थित कूटनीतिककर्मीहरु सक्रिय हुने पुरानै चलन हो । उनले आफ्ना समकक्षी नेताहरुसंग पनि कूटनीतिक भेटघाटको बारेमा हामी सचेत हुने पर्ने बताएका छन् । ‘यो हाम्रो मामिला हामीले मिलाउने हो । विदेशीको भर पर्ने होइन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने- ‘प्रधानमन्त्रीले संविधानमा विदेशीकेा छाया पर्न नदिन यस्तो सन्देश प्रभाव गरेका हुन् ।’

नेपाल भ्रमणमा रहेका क्यानडेली सांसद, केही राजदूत र अन्तराष्ट्रिय निकायका उच्चअधिकारीसँग भेटघाट नराख्न प्रधानमन्त्रीलेनिर्देशन दिएका थिए ।

प्रधानमन्त्रीका कूटनीतिक मामिला सल्लहकार दिनेश भट्टराईले कान्तिपुरसंग भने- ‘प्रधानमन्त्रीको एउटै लक्ष्य छ, तोकेकेा समयमा संविधान । त्यसैले दैनिक प्रशासन संचालनको प्रक्रियाबाहेक अन्य सबै सक्रियता संविधानको निर्माणमा केन्दि्रत हुनुभएको छ । नेपाल आउने कूटनीतिज्ञले स्वभाविक रुपमा भेट पाउन सहज छैन ।’

क्रिसमश र नया बर्ष मनाएर फर्केका धेरै शक्ति मुलुक देखी सामान्य मुलुकका कूटनीतिज्ञहरुले समेत प्रधानमन्त्रीसंग भेट माग गरेको भए पनि त्यस्ता भेटघाट सल्लाहकारमा सिमित गर्न वा परराष्ट्रमार्फत सम्वन्धित मन्त्रालयमा पठाउन प्रधानमन्त्रीको सुझाव रहेको एक अधिकारीले बताए ।

राजनीतिक निर्णय लिने अन्तिम अवस्थामा बाहिर देखिने गरी सक्रिय रहने कूटनीतिज्ञहरु भने अलमलमा परेका छन् । प्रधानमन्त्री कार्यालयले आन्तरिक मामिलाको विषयमा छलफल गर्न आउन खोज्ने राजदूतहरुलाई भेटमा अंकुश लगाएपछि उनीहरुको सक्रियतामा आँच आएको हो । ‘अवको एक महिना प्रधानमन्त्रीज्यूले कुनै पनि विदेशी नभेटा राम्रो हुनेछ । जो पनि आउने प्रधानमन्त्रीलाई भेट्न खोज्ने । यो अन्य कुन मुलुकमा सम्भव छ । हामी पाहुनालाई सम्मान गर्ने संस्कृतीबाट हुर्केको हुनाले यत्तीको सम्मान पाएका हुन, तर यस्तो अवस्थामा हत्तपत्त भेट गर्नदिनु हुदैन,’ प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार चिरन्जिवी नेपालले भने, ‘संविधान दिए पछि नेपाल विश्वमा उदाहरणीय मुलुक हुनेछ । यो प्रधानमन्त्रीले बुझ्नु भएको छ ।’

कूटनीतिक आचारसंहिता र पद्धति नै भुलेर सक्रिय हुने राजदूतहरु माथि परराष्ट्र मन्त्रालयले समेत ख्याल गर्न पर्ने उनले बताए । सजिलै भेट गर्न दिदा महिना दिन भरी हरेक विदेशीसंग प्रधानमन्त्रीले भेट गरिराख्न पर्ने अवस्था आउने हुनाले पनि यस्ता भेटको विषयमा सचेत हुन जरुरी छ । प्रधानमन्त्रीले मात्र होइन अन्य राजनीतिक दलका नेताहरुले नै सकभर विदेशीलाई सहज भेट दिन नहुने सुझाव परराष्ट्र मन्त्रालयको छ । तयार तर प्रयोगमा नआएको कूटनीतिक आचार संहितमा यी विषयहरु परेको भए पनि त्यो लागू हुन सकेको छैन् । कूटनीतिक आचारसंहिता सरकारको प्राथमिकता रहेको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताउदै आएका छन् ।

नेपाल भ्रमण सम्पन्न गरेर फर्केका राष्ट्रसंघका कूटनीतिक मामिला सम्वन्धी उपमहासचिव जेफ्रे फेल्टम्यानले भेट माग्दा पनि प्रधानमन्त्री त्यती सकारात्मक थिएनन । यस्तो समयमा किन भेट माग्छन विदेशीहरु किन आइरहन्छन भन्दै उनले आफ्नो अनौपचारिक छलफलमा सुनाएका थिए । फेल्टम्यानको नेपाल भ्रमण गर्न दिने या नदिने त्यसमा समेत छलफल भएको थियो । नेपाल आएका फेल्टम्यानलाई अमेरिकी राजदूत पिटर डब्लु बोडीले दिएको रात्री भोजमा राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य मुलुकका राजदूत र छिमेकी भारतका राजदूत पनि सामेल थिए । त्यो छलफल पछि भारतीय राजदूतले अनौपचाकिर रुपमा प्रधानमन्त्रीलाई भेट गरेको प्रधानमन्त्र किार्यालय स्रोतेले बतायो । त्यसपछि प्रधानमन्त्रीले विदेशीलाई भेट दिएका छैनन् । प्रधानमन्त्री कार्यालयका अधिकारीहरु भन्छन, ‘प्रधानमन्त्रीले नभेटी नहुने अत्यावश्यक देखिएको बाहेक सामान्य छलफलको लागि भेट नदिने हुनाले अहिले विदेशीहरु अलमलमा छन ।’

एमाले विदेश विभागका सदस्य मिलन तुलाधरले पनि विदेशी भेटघाट हाम्रै कारणले हो भन्दै भने,’हामी आफै सचेत हुँदा प्रधानमन्त्री सम्म सबै विदेशी पुग्न पर्दैन । र पुर्‍याउनु पनि हुँदैन ।’ उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा परराष्ट्रसल्लहाकार थिए उनले विदेशी भेटघाटलाई छुट्टै प्राणालीमा ढालेका थिए । कान्तिपुरबाट


  •  
  •  
  •