अपजसकाबीच प्रधानमन्त्री सिंह विदा हुँदै

360
  •  
  •  
  •  

काठमाडौं १३ वैशाख (ओएनएस) : विश्वकै ठूलो लोकतन्त्र भएको मुलुकमा लगातार दस वर्ष प्रधानमन्त्री भए पनि आँखैसामु देखिएको गिर्दो सामाजिक-आर्थिक सूचकांक तथा आफ्नो बुढ्यौली उमेरका कारण डा. मनमोहन सिंह थकित र क्लान्त देखिन्छन् ।  
भारतमा १६ औं लोकसभा निर्वाचन जारी रहेको जल्दोबल्दो बेलामा समेत मुस्किलले आधा दर्जन सभा/समारोहमा उपस्थित भएका ८१ वषर्ीय सिंहलाई ‘नेपथ्यका शासक’ भनेर टिप्पणी गर्ने क्रम बढेर गएको छ । ७ रेसकोर्स रोडस्थित सरकारी निवासमा मौनप्रायः बसिरहेका भेटिने सिंह आफैंले प्रधानमन्त्रीको पदभारबाट जतिसक्दो चाँडो बिदा हुन चाहेको संकेत दिएका छन् । आगामी बुधबार योजना आयोगमा बस्न लागेको बैठकमा अध्यक्षता ग्रहण गरेपछि सिंहले प्रधानमन्त्री पदबाट अनौपचारिक तहमा छुट्टी लिएको घोषणा गर्दैछन् ।
संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) को सत्ता साझेदारीमा भारतीय कंग्रेसको नेतृत्वमा विभिन्न ११ दल सहभागी भए पनि सबै कामकारबाहीको गुणदोषका भागीदार स्वभावतः प्रधानमन्त्री सिंह हुने गरेका छन् । अझ दुई साताअघि प्रधानमन्त्री सिंहका सञ्चार सल्लाहकार सञ्जय बरुले लेखेको पुस्तक ‘द एक्सिडेन्टल प्राइममिनिस्टर’ प्रकाशित भएपछि नेता सिंहसँग प्रायोजित रूपमै गुणभन्दा बढी दोष खोज्न थालिएको छ ।
पाकिस्तानको पञ्जावस्थित गाह गाउँमा जन्मिएका मनमोहन परिवारसँगै सन् १९४७ को विभाजनपछि भारतको अमृतसर आएका थिए । पञ्जाव युनिभर्सिटी हुँदै अक्सफोर्डसम्म पुगेर पढाइमा दत्तचित्त लागेका मनमोहनको राजनीतिमा कहिल्यै र कुनै चासो थिएन । रिजर्व बैंक हुँदै योजना आयोगमा विषयविज्ञ भएर काम गरिरहेका बेला सन् १९९१ मा तत्कालीन प्रधानमन्त्री पीवी नरसिंह रावले आग्रह गरेर सिंहलाई अर्थमन्त्री पदमा नियुक्त गरेका थिए ।
सन् १९९९ को लोकसभा निर्वाचनमा साउथ दिल्लीबाट निर्वाचन स्पर्धामा उत्रिएका डा. मनमोहन सिंह त्यो चुनावी नतिजामा नराम्ररी पछारिए । र, तत्कालै आफ्ना अनन्य शुभेच्छुक लेखक खुसवन्त सिंहकहाँ पुगे । चुनावी र्‍याली/जुलुसका क्रममा ट्याक्सी भाडाका लागि चाहिने २ लाख रुपैयाँ भने उनले खुसवन्तबाट लिएका रहेछन् । त्यही पैसा फिर्ता गर्न मनमोहन हत्तारिँदै खुसवन्तकहाँ पुगेका रहेछन् । ‘एब्सोल्युट खुसवन्त : द लो-डाउन अन लाइफ, डेथ एन्ड मोस्ट थिङज इन बिटविन’ पुस्तकमा खुसवन्तले लेखेका छन्, ‘मान्छेहरू इमानदारिताको कुरा गर्छन्, मैले मनमोहन सिंहजस्तो इमानदार पात्र अर्को देखेको छैन, जो हाम्रो देशको शासकीय उच्च ओहोदामा छन् । जवाहरलाल नेहरूभन्दा पनि विशिष्ट तहका प्रधानमन्त्री हुन् मनमोहन ।’
दस वर्षअघि पहिलो पटक प्रधानमन्त्री पदको जिम्मेवारी लिँदा भारतमा झन्डै ९ प्रतिशतका दरमा आर्थिक वृद्धिदर रहेकामा चालू आर्थिक वर्ष २०१४/१५ मा यो अनुपात ५ प्रतिशतको छेउछाउमा छ । तर, यिनै प्रधानमन्त्री सिंह सन् १९९१ मा अर्थमन्त्री रहेका बेला भारतमा भित्रिएको उदार अर्थनीति र प्रत्यक्ष विदेशी लगानीको माहोलका कारण उनको नाम अर्थवित्त क्षेत्रमा भने अझै विशिष्ट रूपमा लिइन्छ । विज्ञहरूले मनमोहन सिंहलाई प्रधानमन्त्रीभन्दा बढी अर्थमन्त्रीका रूपमा इतिहासमा सम्झिने भन्दै टिप्पणी गर्न थालेका छन् ।
शिख मुलका प्रधानमन्त्री मनमोहनलाई धेरैले लजालु र अन्तरमुखी भन्ने गरेका छन् । उनमा रहेको ‘असल मान्छे’ को मनमोहन छविलाई हालै आएको ‘द एक्सिडेन्टल प्राइम-मिनिस्टर’ पुस्तकले केही धुमिल बनाउने भय पनि कंग्रेस वृत्तमा फैलिएको छ । यो पुस्तक आएपछिको प्रभाव मिडियामा पनि उत्तिकै परेको छ ।
चुनाव जारी रहेका बेला प्रधानमन्त्री मनमोहनको दैनिकीबारे आएको एउटा समाचार छ, ‘आर्थिक सुधारका पक्षमा उभिने प्रधानमन्त्री सिंह यो देशका सबैभन्दा गरिब राज्यहरूमा भने मुस्किलले भ्रमणमा जाने गरेका छन् । सिंहले आफ्नो प्रधानमन्त्री कालको १० वर्षमा आर्थिक-सामाजिक सूचांक राम्रो रहेको महाराष्ट्रमा ३८ पटक र सूचनाप्रविधिले सम्पन्न राज्य आन्ध्र प्रदेशमा २९ पटक भ्रमण गरेका थिए । तर गरिबी प्रतिशत ४० रहेको छत्तीसगढमा चुनाव मुखेन्जी जम्मा ४ पटक भ्रमणमा गए भने दोस्रो विपन्न (गरिबी प्रतिशत ३७) राज्य झारखण्डमा ३ पटक मात्रै भ्रमणमा जान सकेका छन् ।’
उपिन्दर, दामन र अमृत गरी तीन छोरीका पिता मनमोहनले फाइनान्सियल एक्सप्रेसका पूर्वसम्पादक सञ्जय बरुलाई आफ्नो छोरासरह मानेका थिए । कंग्रेस अध्यक्ष सोनिया गान्धीले पनि ‘आफ्नो सन्तानमा छोरो नभए पनि सञ्जयलाई मनमोहनले छोरासरह’ मानेको बताएकी छन् । सन् २००४ मा यूपीए गठबन्धनमा प्रधानमन्त्रीको जिम्मेवारी आइपरेपछि मनमोहन आफैंले सञ्जयलाई ‘आफूलाई बाहिरी दुनियाँबारे जानकारी गराउन र सञ्चार सल्लाहकार भूमिका निर्वाह गर्न’ सञ्जयलाई बोलाएका थिए ।
‘जसको सही समय आएको छ, त्यसले ल्याएको आइडियालाई सिंगो दुनियाँले पनि रोक्न सक्तैन’ भन्दै कवि भिक्टर ह्युगोको भनाइ उद्धृत गरिरहने सिंह आफ्नो विवेकभन्दा बढी यूपीए गठबन्धनमा कंग्रेस अध्यक्ष नेतृ सोनिया गान्धीको पिछलग्गु बनेको आरोप पनि छ । १९९१ मा भारतमा छाएको आर्थिक मन्दी र भद्रगोल आर्थिक सूचकांकलाई उकास्ने सफल अर्थमन्त्री अहिले आएर प्रधानमन्त्री हैसियतमा छँदा सन् २००५ मा उडिसा राज्यमा भएको कोइला खरिद प्रकरणमा ‘विवादास्पद चरण’ मा मुछिएका समेत छन् । यस्तै अमेरिकासँगको ‘न्युक्लियर डिल’ पनि प्रधानमन्त्री सिंहको कार्यकालमा विवादास्पद रह्यो ।कान्तिपुरबाट

  •  
  •  
  •