प्रधानमन्त्रीले बुझाएनन् सम्पत्ति विवरण

128
  •  
  •  
  •  

काठमाडौं २९ असोज ।
प्रधानमन्त्री सुशील कोइरालासहित १६ मन्त्रीले सम्पत्ति विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐन–०५९ लाई चुनौती दिएका छन् । ऐनअनुसार प्रधानमन्त्री, मन्त्रीलगायत सबै राष्ट्रसेवक कर्मचारीले हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ ।

प्रधानमन्त्री कोइरालालगायतका १६ मन्त्रीले आर्थिक वर्ष सकिएको ८६ दिन बित्दा पनि सम्पत्ति विवरण बुझाएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा चालू आर्थिक वर्षमा आठ मन्त्रीले मात्रै सम्पत्ति विवरण बुझाएको उल्लेख छ ।

मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीले सम्पत्ति विवरण प्राप्त भएका मन्त्रीहरूको विवरण वेबसाइटमा राखिएको बताए । प्रधानमन्त्रीलगायत १५ मन्त्रीको पुरानै विवरण वेबसाइटमा रहेको उनले बताए ।

सम्पत्ति विवरण नबुझाउनेमा अर्थमन्त्री डा. रामशरण महत, सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, शिक्षामन्त्री चित्रलेखा यादव, ऊर्जामन्त्री राधा ज्ञवाली, सहरी विकासमन्त्री डा. नारायण खड्का, आपूर्तिमन्त्री सुनीलबहादुर थापा, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, स्वास्थ्यमन्त्री खगराज अधिकारी छन् । त्यस्तै, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषिमन्त्री हरिप्रसाद पराजुली, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसी, श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसी छन् । केही समयअघि मात्रै नियुक्त भएका उद्योगमन्त्री महेश बस्नेत र पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, कानुनमन्त्री नरहरि आचार्य, वन तथा भू–संरक्षणमन्त्री महेश आचार्य, सिँचाइमन्त्री नारायणप्रसाद साउद, भूमिसुधारमन्त्री दलबहादुर राना र युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मात्रै सम्पत्ति विवरण बुझाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमै सम्पत्ति विवरण नबुझाउनेको सम्पत्ति शंकास्पद रहेको ठानी छानबिन गर्न सक्ने कानुनी प्रावधान छ ।

कसको सम्पत्ति कति ?
विवरण बुझाएका मन्त्रीहरूको सम्पत्ति एक वर्षमा खासै घटबढ भएको छैन । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले घर बिक्रीबाट बचत भएको ६५ लाख रुपैयाँ आफन्तलाई दिएको उल्लेख गरेका छन् । त्यस्तै, नबिल बैंकबाट लिएको एक करोड ऋणमध्ये ५० लाख तिरेको उनले जनाएका छन् । घर बिक्रीबाट प्राप्त रकमले ऋण तिरेको गौतमले जनाएका छन् ।

उपप्रधानमन्त्री गौतमले एभरेष्ट बैंकको आफ्नो खातामा रहेको रकम भने घटेको देखाएका छन् । अघिल्लोपटक सम्पत्ति विवरण बुझाउँदा बैंकमा एक लाख मौज्दात रहेकोमा हाल न्यूनतम मात्रै रहेको उनले उल्लेख गरेका छन् । गौतमसित सुन ३५ तोला, चाँदी सय तोला र हीरा एक सेट भने यथावत् छ ।

उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले भने अघिल्लै सम्पत्ति विवरण बुझाएका छन् । उनको सम्पत्तिमा कुनै घटबढ भएको छैन । यसपटक पनि उनले ६५ तोला सुन, केही हीरा जवाहरत, अन्दाजी दुई किलो चाँदीका सामान रहेको उल्लेख गरेका छन् । भूमिसुधारमन्त्री दलबहादुर रानाले पनि पुरानै सम्पत्ति विवरण पेस गरेका छन् । उनको ११ तोला सुन छ भने बैंकमा सामान्य मौज्दात रहेको छ ।

भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले भने चार लाख नगद बढेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । आफू र श्रीमती अनामिकाको नाममा दुई/दुई लाख बैंक ब्यालेन्स वृद्धि भएको उनले देखाएका छन् । निधिसित सुन ६० तोला, चाँदी एक सय ५० तोला र नगद १० लाख १४ हजार पाँच सय ७५ रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, श्रीमती अनामिकाको नाममा हिमालयन बैंकमा २४ लाख दुई हजार चार सय ६२ र हिमालयन बैंक (एफडी) मा १४ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

कानुनमन्त्री नरहरि आचार्यको सम्पत्ति पनि बढेको छैन । उनले पुरानै विवरण मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । उनीसित सुन ४७ देखि ४८ तोला उल्लेख छ । आफ्नो नाममा १२ हजार मात्रै बैंक ब्यालेन्स रहेको जनाएका मन्त्री आचार्यले श्रीमती शारदा शर्माको नाममा विभिन्न बैंकमा ३० लाख मौज्दात रहेको उल्लेख गरेका छन् ।

वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले पनि पुरानै सम्पत्ति विवरण पेस गरेका छन् । सुन ४५ तोला, आफ्नो नाममा सनराइज बैंकमा २० लाख, श्रीमती मीना र आफ्नो संयुक्त नाममा सनराइज बैंक विराटनगरमा ४० लाख रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । विभिन्न बैंकमा सेयर रहेको मन्त्री आचार्यले जनाएका छन् ।

सिँचाइमन्त्री नारायणप्रसाद साउदले एक वर्षमा सम्पत्ति घटेको विवरण पेस गरेका छन् । अघिल्लोपटकको विवरणमा श्रीमती ज्योत्सनाको नाममा लुम्बिनी बैंकमा ११ लाख मौज्दात रहेको देखाएका उनले अहिले १० हजार मात्रै रहेको उल्लेख गरेका छन् । त्यस्तै, इन्भेस्टमेन्ट बैंकमा बचत गरेको आठ लाख ५० हजारमध्ये अहिले ५० हजार मात्रै बाँकी रहेको उनले देखाएका छन् । यसअवधिमा १० लाख ५० हजार ऋण दिएको मन्त्री साउदले उल्लेख गरेका छन् । उनीसित सुन ४४ तोला, चाँदी एक सय दुई तोला, हीराको चुरा दुई, औँठी ६, लकेट एक, टप पाँच र एकथान मंगलसूत्र रहेको छ ।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले एक वर्षको अवधिमा ५० हजार ऋण तिरेका छन् । अघिल्लो सम्पत्ति विवरणमा उनले पाँच लाख ५० हजार ऋण रहेको देखाएका थिए । यसपटकको विवरणमा ऋण तिरेको उल्लेख छ । मन्त्री पौडेलको बैंक ब्यालेन्स भने घटेको छ । पहिले राष्ट्रिय वाणिज्य बैंकमा ४० हजार मौज्दात देखाएका उनले हाल ३० हजार मात्रै रहेको उल्लेख गरेका छन् । उनले सुन भने पहिला देखाएकै आठ तोला रहेको जनाएका छन् ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •