काठमाडौं १३ माघ ।
प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइरालालाई विपक्षीसँग सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका छन्। संविधानसभालाई बहुमतीय प्रक्रियामा लैजाने निर्णय भएपछि सत्ता पक्ष र विपक्षीबीच सम्बन्ध चिसिरहेको बेला आफूलाई टेलिफोन गरेका प्रधानमन्त्री कोइरालालाई दाहालले त्यस्तो आग्रह गरेका हुन्।
संविधानसभालाई बहुमतीय प्रक्रियामा लैजाने निर्णयको पक्षमा रहेका सत्ता पक्षधर राजनीतिक दलको बैठकले आफूलाई विपक्षी दलसँग वार्ता गर्ने जिम्मेवारी सुम्पेपछि प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष दाहाललाई सोमबार बिहान टेलिफोन गरेका हुन्। ‘वार्ता गरौ,सहमति गरौ ,नमिलेका कुरा छलफल गरौ’प्रधानमन्त्री कोइरालाको प्रस्ताव उधृत गर्दै दाहालका स्वकीय सचिव चुडामणि खडकाले भने।
दाहालले संविधानसभालाई बहुमतीय प्रक्रियामा लैजाने निर्णय नसच्याएसम्म वार्ताका लागि वातावरण तयार नहुने जवाफ दिएको पनि खडकाले बताए। ‘हाम्रा माग सम्बोधन हुने गरी सहमतिको प्रस्ताव नल्याइकन वार्तामा बस्नुको अर्थ छैन’दाहालको भनाई उदृत गर्दै खडकाले भने।
आफूले सत्ता पक्षका राजनीतिक दलसँग परामर्श गरी त्यसको जवाफ दिने कोइरालाले दाहाललाई बताएका थिए। एमाओवादीका प्रमुख सचेकतक गिरिराजमणि पोखरेलले अन्नपूर्णसँग भने’प्रधानमन्त्रीले हाम्रो अध्यक्षलाई वार्तामा बस्नु परयो भनेर टेलिफोन गर्नु भएको थियो। वार्ताको वातावरण सत्ता पक्षले नबनाएसम्म वार्तामा बस्नुको औचित्य छैन भनेर जवाफ दिनु भएको छ।’
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले तीन चरणमा संघर्ष उठाउने निर्णय गरेको छ। गठबन्धनको सोमबार सिंहदरवारमा बसेको बैठकले माघ २० गतेसम्म आन्तरिक तयारी गर्ने,२१ गतेदेखि माघ महिनाभर गाउँ र निर्वाचन क्षेत्रस्तरमा भण्डाफोर र खवरदारीसभा गर्ने,फागुन १ गतेदेखि १० गतेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना र घेराउ गर्ने, फागुन १६ गते काठमाडौमा वृहत् जनसभा गर्ने कार्यक्रम तय गरेको छ।
फागुन १७ गतेदेखि चैत दोस्रो सातासम्म दोस्रो चरणको संघर्षका कार्यक्रम हुने एमाओवादीका प्रमुख सचेतक गिरीराज मणि पोखरेलले बताए। उनका अनुसार दोस्रो चरणका कार्यक्रम क्रियात्मक हुनेछन। ‘हाम्रो क्रियात्मक संघर्ष सत्ता पक्षको भूमिका हेरेर हुन्छ।
अन्नपूर्णपोष्टबाट