तोडियो संवादहिनता, खुल्यो संवादको ढोका

166
  •  
  •  
  •  

Prachanda-sushil1काठमाडौं, १ फागुन (ओएनएस) : गत माघ ८ पछि वार्ता त्याग्दै एक–अर्का प्रति अरोप–प्रत्यारोपमा उत्रिएका दलहरु शुक्रबारबाट संवादहिनता तोडेका छन् । संविधानसभामा जारी रहेको प्रक्रिया स्थगित गरेपछि मात्रा वार्तामा बस्ने बताउँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संवैधानिक समितिको बैठकमा भाग लिदै संवादहिनता तोडेका हुन् ।

बिहिबार संविधानसभाको बैठक अनिश्चितकालसम्म स्थगित गरेपछि विपक्षी वार्ताको लागि तयार भएको थियो । प्रश्नावली समितिको खारेजको माग गर्दै आएका विपक्षीहरु समितिको प्रतिवेदन निर्णयार्थ प्रस्तुत नभएपछि वार्ताका लागि सकारात्मक देखिएका हुन् ।

शुक्रबार एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री सुशील कोइरालाबीच संवैधानिक परिषद्को बैठकमा संविधान निर्माणमा देखिएका विवादको विषयमा पनि छलफल भएको थियो । ‘संविधान निर्माणका विषयमा प्रचण्डजीसँग कुराकानी भएको छ । ’प्रधानमन्त्री कोइरालाले रेडियो दिवसको अवसरमा ललितपुरमा आयोगित कार्यक्रममा भने, ‘प्रचण्डसँग भेटेर खुसि छु, उहाँ सहमतिको लागि तयार हुनुहुन्छ, केहि प्राविधिक कुरा मिलाएपछि एक–दुई दिनमा घनिभूत वार्ता सुरू हुन्छ ।’

विपक्षी दलको नेताको रुपमा बैठकमा उपस्थित भएका प्रचण्डले पनि वार्ताको सकारात्मक भएको बताएको प्रधानमन्त्रीको भनाई छ ।

यसैबीच कोइराला र दाहालबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने तय भएको छ । उक्त बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले पनि वार्ताबाट निकास निकाल्न दुई नेतालाई सुझाएका थिए ।

यसअघि बिहिबार प्रचण्डले प्रधानमन्त्री कोइरालाई टेलिफोन गरि वार्ताको वातावरण बनाउन सकारात्मक पहल गर्न आग्रह गरेका थिए ।

उनले टेलिफोनमा प्रधानमन्त्रीलाई समयसिमा नतोकि संविधानसभाको बैंठक स्थगित गरे वार्तामा वस्न आफुहरु तयार रहेको बताएका थिए । उक्त टेलिफोन वार्ताबाट नेताहरुबीच वार्ताको सुरुआत भएको कानुनमन्त्री नरहरि आचार्यले दाबी गरेका थिए ।


  •  
  •  
  •