अब भारतसँगको सम्बन्ध पुरानै अवस्थामा फर्कन्छ : ओली

250
  •  
  •  
  •  

काठमाडौँ, १२ फागुन(ओएनएस) : ६ दिने भारत भ्रमण पुरा गरेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सम्बन्ध पुर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।

बुधबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतसँगका केही असमझदारी हटेका कारण दुई देशको सम्बन्ध पुरानो अवस्थामा फर्कने बताएका हुन् । उनले आफ्नो भारत भ्रमण सफल भएको समेत दावी गरेका छन् । दुई देशबीचको असझदारी हटाउनुनै आफ्नो भ्रमणको मुख्य उदेश्य भएको र आफूले सोही प्रयत्न गरेको बताउँदै उनले भने, ‘सम्बन्धमा केही समस्या देखिए पनि अब सम्बन्ध सुधारिने विश्वास मैले लिएको छु ।’

उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपाल भारतबीच एक आपसको सम्मान, हित र मित्रताका आवश्यकता र व्यवहारिक रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । उनले भारत भ्रमणका क्रममा सुस्ता, कालापानी लगायतका विषयमा छलफल भएको र त्यसमा रहेका विवादलाई टुङग्याउने सम्बन्धमा भारत सकारात्मक रहेको आफूले पाएको बताए ।

यस्तै, भारतले नेपालमा बनेको संविधानको पनि स्वागत गरेको बताउँदै सीमांकन विवाद सुल्झाउन उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा बनाइएको संयन्त्रबारे समेत भारत भ्रमणका क्रममा छलफल भएको जानकारी दिएका छन् ।


  •  
  •  
  •