काठमाडौँ, २४ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिट्जसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा अमेरिकाले नेपाललाई राखेको मिलेनियम च्यालेन्जर्स कर्पोरेसनको सहायता कार्यन्वयन, नेपाललाई ६६ वस्तुमा कर छुटसहित बजार उपलब्ध गराउने अमेरिकी घोषणाको कार्यान्वयन र नेपालको राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।
भेटका क्रममा पछिल्लो समय भारत र इयुले संयुक्त रूपमा नेपालको संविधानबारे निकालेको विज्ञप्तिका सम्बन्धमा पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले देशमा कुनै राजनीतिक समस्या नभएको भन्दै देश अब आर्थिक विकासमा केन्द्रित भएको जानकारी दिएका छन् । उनले अमेरिकी राजदूतसमक्ष यसका लागि अमेरिकाको साथ र सहयोगको आवश्यकता रहेको बताएका थिए ।
राजदूत टेप्लिट्जले भेटका क्रममा अमेरिकाले नेपालको संविधानको स्वागत गरिसकेको स्मरण गराउँदै नेपालको बाँकी समस्या आफैले गर्नका लागि अग्रसर हुनुपर्ने बताएकी थिइन् ।