‘ब्याटले चौका-छक्का हान्नुस्, बलले विकेट ढाल्नुस्’

220
  •  
  •  
  •  

काठमाडौँ, ५ माघ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप खेल्ने तयारीमा रहेका यु–१९ को राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई नेपाल सम्झेर खेल्न आग्रह गरेका छन् ।

अर्को साता बंगलादेशमा हुने विश्वकप खेल्न जानुअघि नेपाली टोलीलार्इ बिदाइ गर्दै प्रधानमन्त्री ओलीले खेल्ने क्रममा नेपाल र सगरमाथा सम्झेर आफ्नो ब्याट चौका र छक्का प्रहार गर्ने र बलले विकेट लिन आग्रह गरेका हुन् ।

उनले खेलमा सफलता हासिल गर्न दक्षतासँगै आत्मविश्वास र अनुशासन पनि उत्तिकै जरूरी रहेको बताए । उनले क्रिकेटको विकासका लागि सरकार संवेदनशील रहेको बताउँदै सरकारका तर्फबाट गर्नुपर्ने कार्यकालागि प्रस्ताव लिएर आउन समेत आग्रह गरेका छन् ।

युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल क्रिकेट सङ्घ तदर्थ समितिका अध्यक्ष रमेश सिलवाललगायतले नेपाली युवा खेलाडीबाट नेपालले राम्रो परिणामको आशा राखेको बताए ।

मुख्य प्रशिक्षक जगतबहादुर टमाटा र कप्तान राजु रिजालले टोलीले भारतमा गएर धेरै अभ्यास खेल खेलेका कारण राम्रो तयारी भएको बताउँदै शतप्रतिशत प्रदर्शन गर्दै सुखद् परिणाम ल्याएर देशवासीलाई खुसी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

खेलाडी, प्रशिक्षक र पदाधिकारीसहितको २० सदस्यीय नेपाली टोली बुधबार बङ्गलादेश प्रस्थान गर्दैछ ।


  •  
  •  
  •