‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन’

80
  •  
  •  
  •  

काठमाडौं, ९ माघ (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको बताएका छन्।

विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत   ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा उनले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताए।

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको उनले बताए।

नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अङ्गीकार गरी नयाँ संविधानअनुसार नयाँ कानून बनाइरहेको बताउँदै संविधानलाई कार्यान्वयनका निम्ति संरचनागत परिवर्तन गरिरहेको उनले उल्लेख गरे।

प्रम ओलीले भने, ‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन।’

‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताए।


  •  
  •  
  •