प्रधानमन्त्रीको प्रश्नः विदामा टेलिकमको सेवा किन अवरुद्ध हुन्छ?

265
  •  
  •  
  •  

काठमाडौं १५ वैशाख (अाेएनएस): प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न निर्देशन दिएका छन्। ।
सिंहदरबारमा टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद रहेको बताएका हुन्। ‘टेलिकमभित्र यस्ता प्रवृतिहरु हाबी भएको देखिन्छ,‘ प्रधानमन्त्री ओलीले भने,‘यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनु पर्छ।’

प्रधानमन्त्री ओलीले टेलिकमका खास प्राविधिक शाखाहरुमा २४ सै घण्टा सेवा कर्मचरी खट्नुपर्ने बताए।  त्यस्ता शाखाहरुमा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिए।

टेलिकम नाफाका लागि मात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘जनतालाई सञ्चार, शिक्षा, सूचना आदिको सहजताका लागि टेलिकमले काम गर्नुपर्छ,‘ उनले भने।

प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टीकल फाइबरको काम प्रति असन्तुष्टि जनाए।  ‘यस कामका बारेमा गुनासाहरु आएका छन्। यसको काम जहाँ पुगेको छ त्यहीं रोक्नुहोस,‘ प्रधानमन्त्री ओलीले भने, ‘यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला।’

प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए। ‘टेलिकम प्रतिष्पर्धामा पछाडि पर्ने लक्षणहरु देखिएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस ।’

ओलीले टेलिकमको सेवा शुक्रबार अवरुद्ध हुने र सोमबार मात्र सञ्चालन हुन्छ भनेर जनस्तरबाट आएको गुनासो आफूले सुनेको बताए।  ‘यी सबै कुरामा सुधार गर्नुहोस । आफ्नो सेवालाई विश्वासिलो बनाउनुहोस,’ उनले भने।

 

 


  •  
  •  
  •