राष्ट्रिय सहमतिको एजेण्डा बनाउँदै प्रधानमन्त्री ओली

213
  •  
  •  
  •  

काठमाडौं ६ चैत (ओएनएस) :
प्रधानमन्त्री केपी ओलीको भोलिदेखि हुने चीन भ्रमणका लागि सरकारले एजेण्डा तय गरेको छ । आज त्यसलाई अन्तिम रुप दिन प्रधानमन्त्रीका तहबाट गृहकार्य हुनेछ । परराष्ट्र मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालयले प्रस्तावित विषय समेटिएको एजेन्डा मस्यौदा तयार गरेको छ । त्यसलाई प्रधानमन्त्रीले अन्तिम रुप दिनुहुने उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

चीनसँग व्यापार, लगानी, पर्यटन, दुईदेशीय परियोजनामा सम्झौता गर्ने गृहकार्य सरकारले गरेको छ । पहिले चर्चामा रहेको इन्धन खरिद सम्झौता भने नहुने भएको छ । भ्रमणमा स्वतन्त्र व्यापार सम्झौता (एफटिए) गर्ने तयारी छ । नेपालले यससम्बन्धी पठाएको प्रस्तावमा चीनले सकारात्मक जवाफ पठाइसकेको छ । चीनले ०६९ मा बिप्पाको मस्यौदा प्रस्ताव गरेको थियो ।

नेपालले ०७१ मंसिरमा मस्यौदा अध्ययन गरेर जवाफ पठाएपछि चीनले चासो दिएको छैन । चीन भ्रमणका क्रममा तातोपानी नाका नेपाल चीन मित्रताको प्रतीक भन्दै सुचारु गर्नुपर्ने तथा केरुङ नाका वर्षभरि सुचारु गर्ने गरी पूर्वाधार निर्माण गर्न नेपालले चीनसँग सहयोग प्रस्ताव छ । यसबाहेक संखुवासभाको किमाथांका र मुस्ताङको कोरला नाका खोल्न र कम्तीमा दुई लेनको बाटो चीनले बनाइदिन पनि प्रस्ताव गर्दैछ ।


  •  
  •  
  •