प्रधानमन्त्री फागुन ७ देखि भारत भ्रमणमा जाने

114
  •  
  •  
  •  

कपिलबस्तु २९ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ७ गतेदेखि भारतको भ्रमण गर्ने भएका छन् । भारत सरकारले आज प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो दिएको छ । भारतको विदेश मन्त्रालयले आज मात्रै भ्रमणसम्बन्धी जानकारी नेपाल सरकारलाई गराएको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकमा भ्रमणका विषयमा छलफल भएको र भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।

भारत सरकारको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमण जाने उनले बताए । त्यसको आवश्यक तयारी परराष्ट्र मन्त्रालयले गर्ने छ । सरकारले दुई चिकित्सकलाई मन्त्रिपरिषद्का चिकित्सकका रुपमा नियुक्त गरेको छ । प्रवक्ता राईका अनुसार डा दिव्यासिंह शर्मा र डा दिलीप शर्मालाई उक्त पदमा नियुक्त गरिएको हो ।

नेपाल–बेलायत सम्बन्धको द्विशतवार्षिकी समिति

सरकारले नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध स्थापना भएको उपलक्ष्यमा विशेष कार्यक्रम गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्कमा ३२ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १८५२ मा जङ्गबहादुर राणाबाट सुरु भएको उच्चस्तरीय बेलायत भ्रमण हालसम्म नेपालबाट ३४ र बेलायतका तर्फबाट ३९ वटा भइसकेको छ ।

समितिले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्षका अवसरमा के–कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा आवश्यक निर्णय गर्नेछ । समितिमा परराष्ट्रविज्ञ र सरोकार भएकाहरुलाई सहभागी गराइनेछ । त्यस्तै नेपाल–जापान सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन ३० सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । सो समितिको संयोजकमा पनि परराष्ट्रमन्त्री थापा नै छन् । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सो समितिमा पनि परराष्ट्रविज्ञलाई समावेश गराइने छ ।


  •  
  •  
  •