प्रधानमन्त्रीको निर्देशन, ‘कालाबजारी निर्ममतापूर्वक नियन्त्रण गर्नुस्’

108
  •  
  •  
  •  

काठमाडौं १८ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आपूर्ति सहज बनाउँदै कालाबजारीलाई निर्ममतापूर्वक नियन्त्रण गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपूर्तिमन्त्री गणेशमान पुनलाई कडा निर्देशन दिएका हुन् ।

‘पाँच वटा नाका खुलिसकेका छन्, एउटामात्रै खुल्न बाँकी छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले भने, ‘आपूर्तिलाई सहज बनाउन उहाँहरु (भारतीय नेतृत्व)ले सहमति जनाएको सन्दर्भमा खुलेका नाकाहरुलाई अधिकतम प्रयोग गर्नुस् ।’

आपूर्ति सहज बनाउँदै सरकारी नियन्त्रणमा जनतालाई वितरण गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए । ‘कालाबजारीले जनता पेलिएका छन्, निर्ममतापूर्वक कालाबजारी नियन्त्रण गर्नुस्,’ प्रधानमन्त्रीको निर्देशन थियो ।

मन्त्रिपरिषद् बैठकले भूकम्पपीडिलाई न्यानो कपडा किन्न दिने भनिएको १० हजार रुपैयाँ प्रमुख जिल्ला अधिकारीको निगरानीमा १० दिनभित्र बाँड्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले म्याद सकिएका चीनका लागि नेपाली राजदूत महेश मास्केको चार महिना म्याद थपेको छ । प्रधानमन्त्रीको भ्रमणलाई ध्यान दिंदै सरकारले मास्केको म्याद थप गरेको हो ।

मन्त्रिपरिषदले नेपाली सेनाको प्राविधिक महासेनानी अच्युतप्रसाद अधिकारीलाई प्रमुख सेनानी बनाएको छ ।

थारु महोत्सवलाई माघी ६ लाख रुपैयाँ दिने निर्णय गरेको मन्त्री ढकालले जानकारी दिए ।

कान्तिपुरबाट


  •  
  •  
  •