काठमाडौँ, ३ भदौ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले सरकारी निकायहरुलाई सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता अपनाउन निर्देशन दिएका छन् ।
‘सार्वजनिक खरिद प्रक्रियामा मिलेमतो, अनियमितता, भ्रष्टाचार, विसङ्गति कहीँ कतै देखिनुहुँदैन, यस्ता प्रवृत्ति देखिएमा तत्काल कारबाही हुन्छ, प्रधानमन्त्रीले भने ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको आठाँै स्थापना दिवसका अवसरमा कार्यालयका गतिविधिबारे जानकारी दिन प्रधानमन्त्री निवास पुगेका कार्यालयका उच्च अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले विकास निर्माण कार्यलाई निर्धारित समयभित्रै सम्पन्न गर्न अनुगमन गर्न निर्देशन दिएका हुन् । कोइरालाले विकास निर्माण कार्यमा देखिने विकृति रोक्न पनि निर्देशन दिए ।
कार्यालयका कामु सचिव टंकमणि शर्माले सार्वजनिक खरिद सम्बन्धमा रहेका ऐन तथा नीतिमा समयानुकूल परिमार्जन गर्न र खरिद प्रक्रियालाई सरल बनाउँदै लान सुझाव दिए ।
ठूला खरिदमा लागत एवम् गुणस्तर ठीक छ कि छैन भन्ने कुरा अनुगमन गर्न आवश्यक रहेको उनले बताए।