मुलुकको इज्जत बढाउने काम गर्न प्रधानमन्त्रीको निर्देशन

102
  •  
  •  
  •  

काठमाडौं, १४ असोज (ओएनएस): प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको इज्जत बढाउने र स्वदेशमा लगानी भित्र्याउने वातावरणका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न कुटनीतिज्ञहरुलाई निर्देशन दिएका छन्  ।

युरोपेली मुलुक र इजरायलमा कार्यरत राजदूत र नियोग प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले  लोकतन्त्रमा बाहेक मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने भएकाले अब बन्दै गएको वातावरणलाई विकससँग जोडेर लैजान सक्नुपर्ने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार लोकतन्त्रका लागि लामो समयसम्म आन्दोलन गर्नु परेकाले  मुलुक विकासका हिसाबले पछि पर्न गएको तर्क गर्दै  प्रधानमन्त्री कोइरालाले अब सबै मिलेर मुलुक बनाउन पर्ने बताए ।
सबैले अपनत्व महसुस गर्ने गरी सहमतिमै संविधान लेख्ने प्रयास हुने उल्लेख गर्दै प्रधानमन्त्रीले अधिकतम प्रयास गर्दा पनि त्यसो हुन नसके दलहरुबीच भएको सहमतिअनुसार नै निकास खोजिनु उपयुक्त हुने बताए  ।
राजनीतिक दलहरुबीच जति नै मतमतान्तर देखिए पनि सहमतिबाटै संविधान जारी गरिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले लगानीका लागि अब नेपाल आकर्षक थलो हो भन्ने सन्देश प्रवाह गर्ने भूमिका निर्वाह गर्न राजदूतहरुलाई सुझाव दिए ।


  •  
  •  
  •