दातालाई बोलाएर प्रधानमन्त्रीले भने, ‘पुन:निर्माणमा सहयोग चाहन्छु’

251
  •  
  •  
  •  

काठमाडौँ, ३० पुस(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले दाताहरूलाई बोलाएर पुन:निर्माणका लागि सरकारले दाताहरूबाट सहयोग चाहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाएर पुन:निर्माणका लागि विदेशी निकायहरूको सहयोग आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले पुन:निर्माणको काम सुरू गरेको जानकारी दिँदै यस्तो बताएका हुन् ।

उनले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुन:निर्माण तथा भूकम्पपीडितहरूको पुन:स्थापनाकालागि आगामी माघ २ गते भूकम्प दिवसका दिनबाट आफूहरूले अभियान सुरू गर्न लागेको बताएका छन् । उनले पुन:निर्माण कार्यका लागि पुन:निर्माण प्राधिकरण गठन भएको जनाउँदै पुन:निर्माणका लागि कार्ययोजना समेत तय भइसकेको जानकारी दिएका छन् । उनले पुन:निर्माणको काम गत जनवरी २ देखि नै दोलखामा सर्वेक्षण सुरू भइसकेको जानकारी दिँदै पुन:निर्माणको योजनाबारे जानकारी दिएका छन् ।

लिखित मन्तव्य राखेका प्रधानमन्त्री ओलीले भूकम्पपछिको उद्दार तथा सहयोग गर्ने सबै दातृ निकाय, संघ-संस्था तथा छिमेकीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । यस्तै उनले आगामी दिनमा नेपालको विकासका लागि अन्तराष्ट्रिय समुदायले नेपाललाई साथ र सहयोग गर्ने अपेक्षा गरेको समेत उल्लेख गरेका छन् ।

उनले संविधान जारी भएपछि देशमा देखिएको समस्याका कारण पुन:निर्माणको काममा केही बाधा उत्पन्न भएको जनाउवदै उनले विषेशगरी इन्धन अभावका कारण आफूहरूले सोचे अनुरूप काम गर्न नसकेको बताएका छन् ।


  •  
  •  
  •