लोकतन्त्रमा बाधा-अवरोध सामान्य : प्रधानमन्त्री

139
  •  
  •  
  •  

काठमाडौँ, २८ बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सही बाटोमा भएको दावी गरेका छन् ।

मंगलबार पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको प्रथम वार्षिक स्मृतिसभामा प्रधानमन्त्री ओलीले अप्ठ्यारा र बाधा एवम् विरोधमा नअल्झिकन देशका लागि सही बाटोमा अघि बढेको बताएका छन् ।

उनले वर्तमान अवस्थामा देखिएका भ्रम र अन्योल चिरेर सबै मिलेर संविधानको कार्यान्वयन गरेर राष्ट्रिय एकताका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले सरकार सानातिना हल्काफुल्का रुपमा नभई देशका लागि साँचो र सही बाटोबाट अघि बढ्न चाहेको उल्लेख गरेका छन् ।

उनले लोकतन्त्रमा बाधा र अवरोधलाई सामान्य भएको भन्दै बाधा र अवरोधलाई पन्छाएर देशलाई सबल बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीले आफ्नो जेल जीवनपछि पूर्वप्रधानमन्त्री थापासँग निरन्तर सम्पर्क र सम्बन्धमा रहेको सम्झना गर्दै थापा परिचय, पहिचान र स्थान भएको देशको अभिभावकीय व्यक्तित्व भएको बताए । देश र जनताको हितका प्रश्नमा थापाको सधैँ चिन्ता रहेको पनि ओलीले उल्लेख गरे ।


  •  
  •  
  •