काठमाडौँ, ६ बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेकी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन(युनेस्को)की महानिर्देशक इरिना बोकाभसँग शिष्टाचार भेट गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा बोकाभले नेपालमा लोकतान्त्रिक संविधान जारी भएकोमा स्वागत गरेकी छन् । उनले सरकारलाई आफूले गरेको प्रतिबद्धताका आधारमा अघि बढ्न सकोस् भन्दै शुभकामना समेत दिएकी छन् । उनले भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा सघाउने तथा महिला एवं बालिका शिक्षाका लागि थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री ओलीले युनेस्कोको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै बोकाभको महानिर्देशक पदमा दोस्रो कार्यकाल सुरु भएकामा बधाई तथा कार्यकालको सफलताको कामना पनि गरेका थिए ।