राष्ट्रियता जोगाएर नै संकट समाधान हुन्छ : प्रधानमन्त्री

113
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार देशको प्रतिष्ठा र राष्ट्रियता जोगाएर नै अहिलेको संकट समाधान गर्ने बताएका छन् । कसैसँग झुकेर, लत्रेर नभई दृढ भएर समस्याको समाधान खोजीरहेको बताए । सिंहदरबारमा पत्रकार महासंघको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा नझुकेर समस्या समाधान गर्ने बताए । उनले सरकारले संकटका बिचमा विकल्प खोजिरहेको जानकारी दिए ।

अवाञ्छित तत्वहरुसित झुकेर, लत्रेर होइन, राष्ट्रियता जोगाएर समस्या समाधानको पहल भइरहेको छ प्रधानमन्त्री ओलीले भने । निकै भावुक देखिएका ओलीले खुलेर समस्या र समाधानको उपायका विषयमा कुराकानी गरेका थिए । उनले आयातित एजेण्डा बाक्नेहरुका कारण देशमा नाकाबन्दी भएको र देशले संकट झेलिरहेको पनि बताए ।

नाकाबन्दीमा भारतको र आयातित एजेण्डा कसले बाकेको नाम भने ओलीले लिएनन । नेपालमा लागि विकल्प खोज्ने अबसर पनि रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफुले मुख मात्रै नचलाएको र १८ घण्टा निरन्तर काम गरिरहेको दावी गरे । प्रधानमन्त्री ओलीले ट्रली बस जस्ता यातायातलाई फेरि सञ्चालनमा ल्याउने र अन्य विद्युतीय सवारी साधनलाई चलाउने जस्ता विकल्प खोजिरहेको पनि बताए । राष्ट्रियताका विषयमा सञ्चार माध्यम पनि जिम्मेवार बन्नु पर्ने बताए ।


  •  
  •  
  •