लगानीको वातावरण बनिरहेको छ : प्रधानमन्त्री कोइराला

229
  •  
  •  
  •  

FNCCIकाठमाडौँ, २८ चैत(ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लगानीको वातावरण बनिरहेको बताएका छन् । उद्योग वाणिज्य दिवस २०७१ को अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, सदस्य र उद्यमी व्यापारीहरुको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान आयोजित चियापान कार्यक्रममा उनले मुलुकमा लगानीको वातावरण बनिरहेकाले आत्मविश्वासका साथ काम गर्ने आग्रह गरेका छन् ।

उनले मुलुकमा शान्ति, स्थायित्व, सुशासन, कानुनीराज र लोकतान्त्रिक शासन पद्धति कायम हुने विश्वास गर्दै भने, “यो अवसर पनि गुमायौं भने नेपालमा लगानी गर्न कोही आउने छैन ।”

उनले मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र संविधान आउने पनि बताएका छन् । उनले भने, “हामी वार्ता गरिरहेका छौ । विवादित विषयहरु सहमति निकट पुगेका छन् । मलाई विश्वास छ, हामी सफल हुन्छौ । संविधान आउँछ आउँछ ।”

प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेस र सत्तासमर्थित राजनीतिक दलहरुले संविधान निर्माणका विषयमा अत्यधिक लचकता अपनाएको पनि बताएका छन् । उनले भने, “ हामी त निर्वाचनमा दलित, सीमान्तकृत, महिला, पिछडिएका वर्गका निम्ति निर्वाचन क्षेत्र संरक्षित गरी प्रतिस्पर्धात्मक चुनाव होस भन्ने चाहन्थ्यौ, उहाँहरुले मिश्रित प्रणाली भन्नुभयो । हामीले उहाँको प्रस्ताव मान्यौ । हामी लचक भयौ कि उहाँहरू ?”

त्यस्तै न्यायप्रणालीका सन्दर्भमा पनि सत्ता पक्षीय दलहरुले संवैधानिक इजलाशबाट काम चल्ने प्रस्ताव लगेको तर, विपक्षी मोर्चामा रहेका दलहरुले संवैधानिक अदालतको अडान नछोडेकोले अधिकतम लचक भएर उनीहरुकै प्रस्ताव अनुरूप सहमति कायम गरिएको पनि उल्लेख गरे । उनले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री अधिनायक हुन सक्ने जोखिम भएकोले आफूले लोकतान्त्रिक विधिबाट संसदबाट निर्वाचित प्रधानमन्त्री र संघीय र प्रादेशिक निर्वाचक मण्डलद्वारा निर्वाचित हुने राष्ट्रपतिको प्रस्ताव गरेको बताउँदै भने, “सरकार अस्थिर हुन्छ भन्ने उहाँहरुको माग सम्बोधन गर्न २ बर्षमा अविश्वास प्रस्ताव ल्याउन नपाउने र अविश्वास प्रस्ताव ल्याउदा बैकल्पिक प्रधानमन्त्री दिनुपर्ने जस्ता मौलिक सुधार राखिएको छ ।”

प्रधानमन्त्री कोइरालाले प्रदेशको संख्या, नामाङ्कन र सीमाङ्कनको विषय सहमतिमा पुग्न बाँकी रहेको र त्यसमा पनि लचकताका साथ संवाद भएको बताए ।

उद्योग व्यवसायीहरुको बीचमा नेपाली कांग्रेसले धेरै बर्ष शासन गरेको भ्रम छरिएको बताउदै प्रधानमन्त्रीले भने, “नेपालको प्रथम संसदीय निर्वाचनबाट निर्वाचित हुनुभएका प्रधानमन्त्री वी.पी. कोइरालाको सरकारलाई १८ महिनामै राजाले अपदस्त गरे । तर, वी.पी.को सरकारले त्यति बेला गरेका निर्णय र कामहरू ऐतिहासिक र आज पनि गर्व गर्न लायक छन् ।” उनले २०४६ सालमा प्रजातन्त्रको पुनरोदय भएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेसको सरकारलाई काम गर्न नदिएर ३ वर्षमा नै गिराइएको त्यसपछिका सरकारलाई पनि पूर्णावधि काम गर्न नदिइएको उल्लेख गरे । उनले भने,“ नेपाली कांग्रेसले अबलम्बन गरेको उदारवादी आर्थिक नीतिले नै निजी क्षेत्र र देशको विकास छ ।”

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले कुनै पनि मुलुकको विकास सोही मुलुकका जनता र व्यवसायी अगाडि नसरी नभएको उल्लेख गर्दै भने, “व्यवसाय गर्न कुनै समस्या भए त्यसको समाधान गर्न सरकार तयार छ ।”

प्रधानमन्त्री कोइरालाले नयाँ वर्षको संघारमा उद्योग वाणिज्य दिवस २०७१ को अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त समेत गरेका थिए ।


  •  
  •  
  •