काठमाडौ, १० पुस(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सार्वजनिक रूपमा भइरहेको आरोप-प्रत्यारोपले उग्र रूप लिइरहँदा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला दुईलाई मिलाउन सक्रिय भएका छन् ।
संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि विभिन्न चरणमा भएका वार्ताहरूपछि एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली पछिल्लो समय सार्वजनिक कार्यक्रमहरूमा नै आरोप-प्रत्यारोपमा उत्रिएका छन् । उनीहरूको यस्तो आरोप-प्रत्यारोपले विश्वासको वातावरण नै मेटिन सक्ने भन्दै प्रधानमन्त्री कोइराला सक्रिय भएका छन् । उनले आज बिहान एमाओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीले प्रचण्डसँग दलहरूबीच विश्वासको वातावरण तयार गर्ने विषयमा छलफल गरेका थिए ।
छलफल विवादित विषयलाई सहमतिमा टुङग्याउने र दलहरूबीच विश्वासको वातावरण तयार गरेर संयमै संविधान जारी गर्ने विषयमा केन्द्रित भएको बताइएको छ । भेटपछी अध्यक्ष प्रचण्डले विश्वासको वातावरण तयार गर्नका लागि एक पक्षीय र दुई पक्षीय वार्ता गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको बताएका छन् ।
यसै विषयमा आजै प्रधानमन्त्रीले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा निर्धारित समयमै संविधान जारी गर्न दलहरुसंग विश्वासको वातावरण बनाउनेसम्बन्धमा छलफल भएको भेटपछि अध्यक्ष ओलीले बताए । अध्यक्ष ओलीले सहमतिका लागि एमाले तयार भएको बताउँदै देश र जनताको हितविपरीत कुनै पनि सहमति नगर्ने बताए । अध्यक्ष ओलीले गणत्रान्त्रिक मोर्चालाई सहमति हुने खालका प्रस्ताव ल्याएर छलफल गर्न आग्रह पनि गरे । विरोध गर्नेमात्र नभएर सहमति हुनेखालका प्रस्ताव ल्याएर छलफल गर्दा उपयुक्त हुने अध्यक्ष ओलीले बताए ।
मधेषी मोर्चाका नेताहरुसँग पनि भेटवार्ता गरी संविधानका विवादित विषयमा सहमति खोज्ने विषयमा छलफल गर्ने भएका छन् । यसपछि संविधानका विवादित विषयमा चार बजे चारबीच बैठक हुने कार्यक्रम रहेको छ ।
सम्वाद समितिको प्रतिवेदनका विषयमा कांग्रेस-एमाले र एमाओवादी-मधेषी मोर्चाबीच कुरा नमिल्दा पटक-पटक वार्ता बिना निष्कर्ष टुङ्गिएको थियो । विवादित विषयमा सहमति खोज्नका लागि उक्त बैठक बोलाइएको बताइएको छ ।