नेपालको हितलाई केन्द्रमा राखेरमात्र पिटिए :  प्रधानमन्त्री

70
  •  
  •  
  •  

काठमाडौं, ५ भदौ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले नेपालको हितलाई केन्द्रमा राखेर भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता (पिडिए) हुने बताएका छन् । उनले भारतले चाहँदैमा उक्त सम्झौता नहुने बताए । उनले नेपालको हित नै सर्वाेपरिरहेको उल्लेख गर्दै समानताका आधारमा सम्झौता हुने बताए ।

बिहीबार ती दुबै सम्झौता नगर्न माग राख्न वालुवाटार पुगेका नेकपा–माओवादीलगायत १० दलका नेताहरुसँग प्रधानमन्त्री कोइरालाले भारतप्रति शंका नगर्न पनि भनेका छन् । १० दलका नेताहरुले हतारमा सम्झौतान नगर्न भन्दै ३ बुँदे ज्ञापत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोइरालाले राष्ट्रहित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने बताए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले नेपाललाई तल पारेर कुनै सम्झौता नुहनेमा आश्वस्त पार्दै आफूले राष्ट्रियतामा आँच आउन नदिने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले प्रतिनिधिमण्डललाई भारतको पहिलाको अवस्थामा हाल परिवर्तन आएकाले सधँै शंकाको दृष्टिकोणले नहेर्न आग्रह गरेका थिए । हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजले नेपाल भ्रमणका क्रममा आफ्ना छिमेकी राष्ट्रसँग समानता र सार्वभौमिकताको आधारमा सम्बन्ध विकसित गर्न चाहेको तथा थिचोमिचोमा पारेर लेनदेन गर्न नचाहेको कुरा आफूसँग राखेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री कोइरालाले मलेसियाका पूर्व प्रधानमन्त्री डा. महाथिर मोहम्मदले नेपाल भ्रमणको क्रममा आफूसँगको भेटमा मलेसियाको विकासको आधार विदेशी लगानी रहेको स्मरण गराउँदै नेपालमा विदेशी लगानी आउँदा नतर्सन प्रतिनिधिमण्डललाई आग्रह गरेका थिए । बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रतिपक्षी दलहरूले देखाएको संवेदनशीलताले देश र जनताको भविष्यप्रति आफूलाई झनै आशावादी बनाएको प्रधानमन्त्री कोइरालाले बताए ।

तीनबुँदे ज्ञापनपत्रमा भारतसँग सम्झौता गर्नुपरे सर्वदलीय सहमति कायम गरेर मात्रै गर्र्नुपर्ने, आन्तरिक आपूर्तिमुखी विद्युत् परियोजना निर्माण राज्यले मात्रै गर्नुपर्ने, निजी क्षेत्रले विद्युत् निकाल्दा चिलिमे र माथिल्लो तामाकोसी नमुनाअनुसार बनाउनुपर्ने उल्लेख गरिएको छ । भेटमा माओवादीका महासचिव रामबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(माले)का नेता कुमार बेल्बासे, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।


  •  
  •  
  •