काठमाडौं,जेठ २३ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला चीनको दुई दिने भ्रम्ण सकेर शुक्रबार साँझ स्वेदश फर्किएका छन् । उनी चीनको कुनमिङ आयोजित साउथ चाइना एक्सोको उद्घाटन समारोहमा भाग लिन बिहीबार त्यसतर्फ गएका थिए ।
स्वेदश फर्केपछि त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै चीन भ्रमण अत्यान्त सफल भएको प्रतिक्रिया दिए । ‘भ्रमण नेपालको निर्यात व्यापार प्रबर्धन गर्न र लगानी भित्र्याउन निकै महत्वपूर्ण साबित भयो’ प्रधानमन्त्री कोइरालाले भने ।
उनले कुनमिङ दोस्रो चीन–दक्षिण एशिया प्रदर्शनीको समुद्रघाटन समारोहमा प्रमुख बक्ताको रुपमा आफूले उठाएका विषयका बारेमा पनि उल्लेख गरे ।
उनले नेपाल शान्ति र स्थायीत्वको मार्गमा लागेकोले ढुक्कसंग जलविद्युत, पर्यटन, कृषि र पूर्वाधार निर्माणमा लगानी भित्र्याउन आग्रह गरेको बताए । सो प्रदर्शनीमा सहभागी हुन आएका विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, चीनका उपप्रधानमन्त्री, युनान स्वायत्त प्रान्तका गभर्नर लगायतका विशिष्ट महानुभावसंग द्विपक्षीय हित, उद्योग, व्यापार, पूर्वाधार निर्माण र जनस्तरको सम्बन्ध अभिबृद्धिको बारेमा पनि कुराकानी भएको उल्लेख गरे । उनले नेपालको संक्रमणकाल र स्थायी शान्तिका प्रति सबै छिमेकी मुलुकहरुको चिन्ता रहेको पनि बताए ।
प्रधानमन्त्री कोइरालाले चीन र दक्षिण एशियाका मुलुकहरु बीच व्यापार र आर्थिक सम्बन्ध बढाउने उद्देश्यले आयोजना भएको यो प्रदर्शनीका अवसरमा यस क्षेत्रका मुलुकहरुका बीचमा सम्बन्ध विस्तार गर्नकालागि हवाइ र सडक सञ्जाल जोडिनु पर्ने विषयमा पनि छलफल भएको बताए ।
उनले भ्रमणका अवसरमा चीनका उपप्रधानमन्त्री वाङ्ग याङ्गले चीनको उपयुक्त समयमा औपचारिक भ्रमण गर्न प्रधानमन्त्री लि केक्विङ्का तर्फबार्ट निमन्त्रणा दिएको र आफूले पनि चीनका प्रधानमन्त्री लि के क्वाङ र राष्ट्रपति सि जिनपिङलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा गरेको बताए ।