प्रधानमन्त्री कोइरालासँग स्पेनका राजदूत एरिष्टेगलको भेट

385
  •  
  •  
  •  

काठमाडौँ, ९ भदौ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालासँग सोमबार नेपालका लागि स्पेनका गैरआवासीय राजदूत गुस्ताभ डे एरिष्टेगलले प्रधानमन्त्रीको निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटघाटका अवसरमा उनहरुबीच दुई मुलुकबीचको सम्बन्ध, लगानी र व्यापारका विषयमा कुराकानी भएको थियो । सो अवसरमा राजदूत एरिष्टेगलले प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले नेपाल अहिले संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने ऐतिहासिक चरणमा रहेको बताए । उनले वर्तमान सरकार मुलुकमा शान्ति, स्थिरता, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकासका मूल लक्ष्य लिएर हिँडेको र त्यसलाई हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री कोइरालाले निर्धारित समयभित्रै संविधान जारी हुने पनि बताए । भेटका क्रममा प्रधानमन्त्री कोइरालाले नेपाल अब शान्ति, स्थिरता र विकासको चरणमा प्रवेश गरेकाले ढुक्क भएर नेपालमा लगानी गर्न राजदूतमार्फत स्पेनका लगानीकर्तालाई आमन्त्रण पनि गरे । सो अवसरमा राजदूत एरिष्टेगलले सडक र विमानस्थलको निर्माण र सञ्चालनमा स्पेनको राम्रो अनुभव भएको बताए ।


  •  
  •  
  •