कोइराला सरकारले पनि सुरु गर्‍यो फजुल खर्च

107
  •  
  •  
  •  

काठमाडौं, १८ कात्तिक ।
स्वच्छ छविका किफायती मानिने प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पनि राज्यको ढुकुटीबाट फजुल खर्च गर्न थालेको छ । राज्यको ढुकुटीको जिम्मा लिएका अर्थमन्त्री रामशरण महतले नै फजुल खर्चको सुरुआत गरेको जानकारी उच्च सरकारी अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार महतले हालै सबभन्दा आधनिक मोडेलको महँगो र विलाशी गाडी टोयोटा प्राडो जिप खरिद गरेर चढ्न थालेका छन् ।

अर्थमन्त्री महतले यसअघि पनि महँगो र विलाशी टोयोटा प्राडो जिप चढै आएका थिए । महतले दुवै विलाशी गाडी आफैंले चढ्न थालेको अर्थमन्त्रालय स्रोतले उल्लेख गरेको छ । मन्त्रीलाई दिइने अर्को कालो कारसमेत महतले प्रयोग गर्दै आएका छन् । सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी कानुनमा मन्त्रीलाई दुइटामात्र गाडी दिने व्यवस्था भए पनि महतले तीनवटा, त्यसमा पनि विलाशी गाडी प्रयोग गरेका हुन्

अर्थमन्त्रालयले आफ्ना मन्त्रीका लागि भन्सार र करबाहेक नै १ करोड ५३ लाख ६२ हजार ३ सय ८९ रुपैयाँमा टोयोटा प्राडो जिप खरिद गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफ्नो बेवासाइटमा सोमबार अर्थमन्त्रालयले उक्त मूल्यमा टोयोटाको नेपालस्थित आधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपाल प्रालिबाट टोयोटा प्राडो जिप खरिद गरेको बिल राखेको छ ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सरकारको प्रशासनिक खर्च घटाउन मन्त्रीले ३० लाख रुपैयाँभन्दा बढीको गाडी खरिद गर्न नपाउने सूशासन कार्ययोजना बनाउनुका साथै त्यससम्बन्धी अध्यादेश जारी गरेको थियो । अध्यादेश संसदबाट अनुमोदन नभएकाले खारेज भइसके पनि प्रशासनिक खर्च घटाउने वर्तमान सरकारकै घोषित नीतिविपरीत अर्थमन्त्रीले नै महँगो र विलाशी गाडी खरिद गरेका हुन् ।

म्यानमारमा केही समयअघि भएको बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री कोइरालाले समकक्षीहरूभन्दा सबभन्दा साना भ्रमण टोली लगेको र कम खर्चिलो व्यवहार प्रदर्शन गरेकामा उनी देश/विदेशमा प्रशंसित भएका थिए । उक्त सम्मेलनमा जाँदा आफूले पाएको भ्रमण भत्तामध्ये खर्च हुन बाँकी रकम राज्यको ढुकुटीमा फिर्ता गरेपछि कोइरालाले किफायती र इमानदार प्रधानमन्त्रीका रूपमा चर्चा पाएका थिए ।

तर, तिनै प्रधानमन्त्रीले पछिल्लो समयमा आएर आफ्नो छविविपरीत फजुल खर्च गर्न सुरु गरेका छन् । कोइरालाले गत विजयादशमीको एकै दिन ९ लाख ३९ हजार ७ सय ८ रुपैयाँ खर्च गरेका छन् । अविवाहित र परिवारमा एक्ला प्रधानमन्त्रीले विजयादशमीका दिन चिया-नास्तामा मात्र त्यति ठूलो रकम खर्च गरेका हुन् । चियानास्ताको आपूर्ति अनमोल क्याटरिङ सर्भिसले गरेको विवरण प्रधानमन्त्री कार्यालयले सोमबार आफ्नो वेबसाइटमा राखेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विजयादशमीको दिन भएको कार्यक्रममा राज्यको ढुकुटीबाट चियानास्ताका नाममा उक्त रकम खर्च भएको वेबसाइटमा उल्लेख छ ।

प्रधानमन्त्री सहायता कोषबाट कोइरालाका पूर्ववर्ती हरेक प्रधानमन्त्रीले आफ्ना कार्यकर्ता र नातागोतालाई वर्षेनि करोडौं रुपैयाँ खर्च गर्थे, तर कोइरालाले भने सहायता कोषबाट जथाभावी रकम बाँड्ने प्रवृत्तिमा अंकुश लगाएका कारण सरकारी अधिकारीहरूबीच उनी प्रशंसित छन् । तर, आफ्नो स्वकीय सचिवालयका कर्मचारीहरूका हकमा भने कोइराला प्रधानमन्त्री सहायता कोषबाट रकम नबाँड्ने आफ्नै प्रवृत्तिमा अड्न नसकी विचलित भएको स्रोतले उल्लेख गरेको छ ।

कोइरालाले आफ्नो स्वकीय सचिवालयका सबै कर्मचारीलाई प्रधानमन्त्री सहायता कोषबाट दसैं खर्च बाँडेको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार उनको स्वकीय सचिवालयमा पूर्ववर्ती प्रधानमन्त्रीका पालामा भन्दा आधा कम अर्थात् दुई दर्जन कर्मचारी छन् । स्वकीय सचिवालयका कर्मचारीहरूलाई कोइरालाले करिब १५ लाख रुपैयाँ दशैं खर्च बाँडेको स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री कोइराला मोबाइल सेटको सवालमा पनि किफायती रहन सकेनन् । उनले दुई साताअघि सामसुङको सबभन्दा महँगो ८६ हजार रुपैयाँ पर्ने दुई थान ‘सामसुङ ग्यालेक्सी नोट फो’ सेट खरिद गरेका छन् । सामसुङले आफ्नो नयाँ सामसुङ ग्यालेक्सी नोट फो नेपालमा सार्वजनिक गरेको भोलिपल्टै प्रधानमन्त्रीको निर्देशनमा मन्त्रिपरिषद सचिवालयले दुइटा सेट खरिद गरिदिएको हो । कोइरालाले महँगो सेटमध्ये एउटा आफूले बोकेका छन् भने अर्को स्वकीय सचिव रमेश भण्डारीलाई दिएका छन् । भण्डारी कोइरालाका भान्जा हुन् । ती दुई सेटलाई प्रधानमन्त्री कार्यालयले छुटसहित १ लाख ५६ हजार ५ सय ६७ रुपैयाँ खरिद गरेको मन्त्रिपरिषद सचिवालयको वेवसाइटमा उल्लख थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •