प्रधानमन्त्री भन्छन् : मन्त्री र सचिवलाई पनि छोड्दिन

154
  •  
  •  
  •  

Sushil-Koirala_20121205093047काठमाडौ‌, ६ असार (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकम दुरुपयोग हुन नदिने फेरि दोहोर्‍याएका छन् ।

कोषका तर्फबाट भूकम्प पीडितहरुलाई राहत र सहयोगको लागि गएको रकम र सामग्री वितरण न्यायोचित हुनुका साथै त्यस्तो सहयोगको सदुपयोगमा सरकार सजग रहेको बताए । उनले भने,“ अनियमितता र दुरुपयोग गर्नेलाई दण्डित नै गर्छु , चाहे मन्त्री होस् वा सचिव ।”

प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न चाहनेहरुलाई जिल्लामा प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी काम गर्न पनि आग्रह गरे । “जिल्लामा कहाँ राहत सामग्री पुगेको छ र कहाँ पुगेको छैन भन्ने रेकर्ड प्रमुख जिल्ला अधिकारीसँग हुन्छ” प्रधानमन्त्री कोइरालाले भने, “उहाँसंगको समन्वयमा काम गर्दा कतै राहत थुप्रिने र कही नपुग्ने हुँदैन।”

भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ नेपाल वित्तीय संस्था संघले १५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संघका अध्यक्ष राजेन्द्रमा शाक्यले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

यस्तै संयुक्त राज्य अमेरिकाको आयोवा अवस्थित महर्षि युनिभर्सिटी अफ मेनेजमेण्टले नेपालका भूकम्प पीडितहरुको सहयोगको लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको छ ।

यता न्यूयोर्क अमेरिकामा रहेका नम्रता बराल र नवीन वाँस्कोटाले नेपालका भूकम्प पीडितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेका छन् ।

आइतबार नै नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्सले(नाट्टा)ले भूकम्प पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ प्रदान गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नाट्टाका अध्यक्ष डी.बी.लिम्बूले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

यसैगरी सञ्चालित टेवा र नागरिक आवाज नामक संस्थाहरुले ५ लाख, ओशोधारा संघ नेपालले ५ लाख, गण्डकी बोर्डिङ्गका पूर्व विद्यार्थीहरुको संस्था, एग्बोसा १ लाख ११ हजार १ सय ११ रुपैयाँ, अविच्छिन्न बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार १सय ११ रुपैयाँ र अमेरिकाको चर्च स्ट्रिट इलिङ्गटन अवस्थित सुवेदी एण्ड सन्स एलएलसी, डिबीए इजी मार्टले २ लाख १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।


  •  
  •  
  •