प्रधानमन्त्री कोइराला २२ घण्टापछि पुगे जकार्ता

233
  •  
  •  
  •  

Sushil-Koirala_20121205093047काठमाडौं, ८ बैशाख (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला एशियाली–अफ्रिकी (बाङ्गडुङ्ग)सम्मेलनको ६० औं बार्षिकोत्सव तथा १० औं एशियाली–अफ्रिकी शिखर सम्मेलनलाई सम्बोधन गर्न मंगलबार इण्डोनेसियाको राजधानी जकार्ता पुगेका छन् । प्रधानमन्त्री सोमबार दिउँसो त्रिभुवन विमानस्थालबाट उडेका थिए ।

प्रधानमन्त्री कोइरालाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल मंगलबार बिहान थाइलैण्डबाट स्थानीय समय ८ः०० बजे थाइ एअरवेजबाट जाकर्ता प्रस्थान गरेको थियो । त्यसक्रमा कोइराला झण्डै १२ घण्टा बैंककमा ट्रान्जिटमा परेका थिए । स्थानीय समय अनुसार प्रधानमन्त्री कोइराला ११ः ३५ मा जकार्तास्थित सोइकार्नो–हाता अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका छन् ।

प्रधानमन्त्री कोइरालालाई जाकर्ताका गभर्नर, इण्डोनेशिया सरकारका प्रमुख शिष्टाचार महापाल, वरिष्ठ अधिकारीहरु, सम्मेलनमा सहभागिता जनाइ रहका परराष्ट्र मन्त्री महेन्द्र पाण्डे,का.मु. परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सम्मेलनस्थल पुगीसक्नु भएका नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुले स्वागत गरेका छन् ।  प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डल होटल फेयरमोन्टमा रहने व्यवस्था छ ।

मंगलबार नै परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र परराष्ट्र मन्त्रालयका का.मु.सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई बाङ्गडुङ्ग सम्मेलनको ६० औं बार्षिकोत्सव र १० औं एशियाली अफ्रिकी शिखर सम्मेलनका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनेछन् ।


  •  
  •  
  •